
विराटनगर : दलीय गठबन्धनतर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो पौने ३ बजे मनोनयन दर्ता गराएका कांग्रेसतर्फबाट मेयरका उम्मेदवार कोइरालाले महानगरको समग्र विकास र समृद्धि आफ्नो प्रमुख एजेन्डा रहने बताए।
उम्मेदवारी मनोनयन दर्तापछि पत्ररकारसँग संक्षिप्त कुराकानीमा कोइरालाले महानगरमा स्वास्थ्य, शिक्षा, सरसफाइ, कर घटाउने कुरामा जोड दिने बताए।
लामो रस्साकस्सीका बावजुत पार्टीबाट टिकट हात पार्न सफल कोइरालाले निर्वाचनमा सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘पार्टीभित्र सबै जिम्मेवार साथीहरू हुनुहुन्छ। मनमुटावलाई थाती राखेर अब पार्टीको सच्चा सिपाही भएर अघि बढ्नपर्छ,। यही नै अबको आवश्यकता हो। मलाई आशा र विश्वास छ, हामी सबै एक भएर अघि बढ्नेछौं।’
कोइराला सोमबार मध्याह्न काठमाडौँैबाट विराटनगर आएका हुन्। विमानस्थलमा स्वागतसँगै उनी निवास पुगेका थिए। त्यहाँ आमाको आशीर्वाद लिएर उनी आफ्नो उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
अर्कोतर्फ, बिहान ११ बजे मनोनयनका लागि समय लिए पनि जसपाले सोही क्रममा मनोनयन दर्ता गरेको थियो। उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले मनोनयनका लागि गठबन्धन दल कांग्रेसलाई पर्खिएको बताए। सो क्रममा उनले पार्टीबाट परित्याग गरेकासँग संवाद भइरहेको बताए।
उनले भने, ‘निर्वाचनमा असन्तुष्ट हुनु एउटा कुरा हो। तर त्यसलाई वार्ता र छलफलबाट सुधार्नु छ । हामी बाहिरिनुभएका साथीलाई पनि फर्काउनेछौँ।’
मोरङका केही स्थानमा दलीय गठबन्धन मित्रवत् रूपमा मात्र भएको छ। महानगरपालिकामा कांग्रेस र जसपाबीच केन्द्रले गरेको गठबन्धन मेयर उपमेयरमा सीमित छ। त्यसबाहेक वडातहमा जसपा, एकीकृत समाजवादी र माओवादीबीच मित्रवत् अवस्थाले निर्वाचनमा अघि बढ्ने सहमति भएको छ।