जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा ७९ वर्षीय एक वृद्धले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम–८ पिडारी चोकका रामसेवक यादवले आज मनोनयन दर्ता गराएका हुन् । उनले राजनीति फोहोर भइरहेकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए ।

अहिलेका दलहरूको विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डनवादी भएको उनको आरोप छ ।

नेता यादव नेकपा एमालेका पुराना नेता हुन् । तर, एमालेमा पनि बिचलन आएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार साना दुई दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै, उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

जनमत पार्टीबाट अनिता देवी साह, नेकपा मालेबाट गीताकुमारी मण्डल, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा जनमत पार्टीबाट संतोषकुमार साह, स्वतन्त्रबाट कुमारी बनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका छन् । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएका छन् ।


२०७९ बैशाख १२, सोमबार ०८:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय