
वीरगञ्ज : ‘घरमा श्रीमती र कार्यालयमा पिएले जे गरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेश प्रदेशका मुख्यमन्त्रीले चरितार्थ गरेका छन् ।
मधेश आन्दोलनका शहीद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउतले आफन्तलाई उम्मेदवार बनाएका छन् । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाएका हुन् ।
मुख्यमन्त्री राउतको पैत्रिक थलो जगरनाथपुर गाउंपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिएकी छन् । मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षको उम्मेदवार बन्ने हल्ला चलेपछि उपाध्यक्ष बिसमिल्ला खातुन जनता समाजवादी पार्टी (जसपा) पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । जगरनाथपुर गाउंपालिकामा मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुन सरकारी गाडीमा चढेर उपाध्यक्ष पदको भोट माग्दै हिड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको आरोप बिसमिल्ला खातुनको छ ।
मुख्यमन्त्री राउतकी श्रीमती जुलेखाले सोमबार गाउँपालिकाको उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएकी छन् । उनले जसपाबाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिइन् । मधेश आन्दोलनका शहीद परिवारलाई टिकट नदिएको आरोप लागेका बेला जसपाले मुख्यमन्त्रीकै जोडबलमा श्रीमती खातुनलाई उपाध्यक्षमा उम्मेदवार बनाएको आरोप असन्तुष्ट कार्यकर्ताहरूको छ । मधेश आन्दोलनका शहीद सोहन साह कलवारकी श्रीमती विनिता साह कलवारलाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । राजनीति र पार्टीमा खासै सक्रिय नरहे पनि खातुन मुख्यमन्त्रीकी श्रीमती भएकाले उपाध्यक्षको उम्मेदवार बनाइएको चर्चा छ ।
उपाध्यक्षमा कांग्रेसबाट बबीता सिंह, नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिएकी छन् । जगरनाथपुर गाउंपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष जालीम मियाका भाइ महम्मद सलीम मन्सुरले एमालेबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट श्रीकान्त यादव, माओवादी केन्द्रबाट मालती उपाध्याय, जसपाबाट कृष्णमोहन यादव, लोसपाबाट महम्मद अफताब मियाँ, जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ । मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले पनि गाउंपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वा सुगौली गाउंपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिएका छन् ।
जनता समाजवादी पार्टीका तर्फबाट गाउंपालिका अध्यक्षमा दीपक र उपाध्यक्षमा आस्मोहनी चौधरीले उम्मेदवारी परेको छ । पाँच महिना अगाडि साइकल वितरणको घोटालामा मुछिएका मुख्यमन्त्रीका स्वकीय सचिव दीपकलाई उम्मेदवार बनाइएकोमा पार्टी भित्र व्यापक असतुष्टि रहेको एक कार्यकर्ताले बताए । दीपकले विद्यालयसंग भरपाई गराएर पनि साइकल वितरण नगरेको आरोप लागेको छ । कागजी प्रक्रिया मिलान गर्नुपर्ने भन्दै यादवले विद्यालयको आधिकारिक लेटर प्याडमा साइकल वितरण भइसकेको भन्दै भरपाई गराएर साइकल वितरण नगरेको स्थानीयको आरोप छ ।