
काठमाडौँ : बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदै छ । उक्त कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौँ ओर्लिने भएका छन् ।
कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् ।
भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ रहेको छ । १३ गते बिहानै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ ।
त्यस लगत्तै सलमान सगरमाथा माउन्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ । माउन्टेन फ्लाइटबाट साँझ काठमाडौँ फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ ।
त्यसपछि उनले भोलिपल्ट अर्थात् जेठ १४ गते दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् । कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदै छन् ।
कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले साङ्गीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।