
सिन्धुली : सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
दुर्घटनामा तीनपाटन गाउँपालिका–९ आम्बोटेका रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरुमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।
अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले बताए।
सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न सकिएको छैन।
सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बोलेरो दुर्घटना भएको हो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।