जनकपुरधाम : ५ दलीय गठवन्धन बनाएर स्थानिय निकायमा होमिएको घोषणा गरेपछि पनि जनकपुरधाममा त्यसको प्रभाव खासै देखिएको छैन । ५ दलीय गठवन्धन मध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको जनकपुरधाममा प्रभाव रहेको छ । तीनटै पार्टीले वडामा छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् भने मेयरमा जसपा र उपमेयरमा कांग्रेसले मात्रै उम्मेदवारी दिएको छ । जनकपुरधाममा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार लालकिशोर साह र नेपाली काँग्रेसबाट उपमेयरका किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन् ।

ती पार्टीहरुले छुट्टा छुट्टै प्रचार प्रसार शुरु गरेका छन । यतिसम्म कि आफनो ब्यानरमा समेत एकले अर्का पार्टीको नेतालाई राखेको छैन । मेयरले छुट्टै व्यानर बनाएका छन् भने उपमेयरले छु्ट्टै व्यानर बनाएर आफनो फोटो राखेका छन् । कानुन व्यवसायी श्यामकुमार मिश्रले भने ‘५ दलीय गठबन्धन मिलेर चुनाबमा गएको अनुभूति जनकपुरधाममा भैरहेको छैन ।’

सत्ता गठबन्धनसँगै मत माग्ने र एक अर्काेलाई सघाउने भनिए पनि त्यो लक्षण सुरुवात मै समाप्त भएको देखिन्छ । सत्ता गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकामा गतसाता पत्रकार सम्मेलन गरिएको थियो । सो सम्मेलनमा सत्ता गठबन्धन नेपाली काँग्रेसका तर्फबाट उपमेयरमा उम्मेदवार किशोरी साह मात्र सहभागी भएका थिए, काँग्रेसका अन्य नेता कार्यकर्ताहरु देखिएन् । त्यस्तै जसपाबाट मेयर पदका उम्मेदवार लालकिशोर साह र उनका पार्टीका नेता कार्यकर्ताहरुको मञ्चमा राम्रै उपस्थिति देखिएको थियो ।

सामाजिक सञ्जालमा राखिएको प्रचार प्रसारमा नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवारहरुले उपमेयरका उम्मेदवार किशोरी साह र वडाअध्यक्ष एवं सदस्यहरुको फोटो, नाम र रुख छाप राखेपनि मेयरको फोटो, नाम र जसपाको छाता छाप राखेका छैनन् । यसको अर्थ काँग्रेस उम्मेदवारहरु किशोरी साहको मत मागिरहेका छन् । उता मेयरको तर्फबाट राखिएका प्रचार प्रसारमा पनि सत्ता गठबन्धन नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार किशोरी साहको फोटो र नेपाली काँग्रेसको रुख छाप राखेको देखिदैन । यस प्रकार जसपा र काँग्रेसको गठबन्धनमा दरार आएको प्रष्ट देखिन्छ स्थानीयवासीहरु वताउँछन ।

वडाहरुमा प्रचार गर्दा पनि वडाअध्यक्षहरुले काँग्रेसका किशोरी साहको र आआफ्नो मत मागिरहेका छन् तर मेयरमा काँग्रेसबाट विद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको मत मागिरहेको देखिएको छ । मनोज साह नेपाली कांग्रेसका मेयरका उम्मेदवार थिए । ५ दलीय गठवन्धन बनेपछि जनकपुरधामको मेयरको कोटा जसपालाई परेको थियो । पछि पार्टी परित्याग गरी मनोज स्वतन्त्रवाट चुनाब लडेका छन् । मनोजलाई नेपाली कांग्रेसमा विमलेन्द्र निधि नजिकका व्यक्तिहरुको समर्थन रहेको छ । निधि नजिककै व्यक्ति जनकपुरधामबाट उपमेयरमा पनि उम्मेदवारी दिएकाले दूबै एक प्रकारले मिलेर चुनाब लडीरहेको आकलल गरिएको छ ।

एकजना कांग्रेस नेताले नाम उल्लेख नगर्ने शर्तमा जसपाबाट मेयरका उम्मेदवार रहेका लालकिशोर साहसँग जनताको निकै असन्तुष्टि रहेको बताए ।

२०७९ बैशाख १८, आईतवार १०:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय