धनुषा : धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक प्रहरी बरिष्ठ हवलदारको मृत्यु भएको छ । गएराति नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी बरिष्ठ हवलदार भोजराज पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका बरिष्ठ हवलदार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

सोमवार ढल्केवर चोकमा चेक प्वाइन्टबाट ड्युटी सकाएर ईलाका प्रहरी कार्यालय तर्फ पैदल जाँदै गरेका उनलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाउने काम भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए ।

‘ठक्कर दिने गाडीको पहिचान गर्न हामी लागिपरेका छौं । अनुसन्धान भइरहेको छ । सिसी क्यामेरामा ठुलो गाडी देखिएको छ । ट्रक वा मालबाहक ट्यांकर हुनसक्ने हामीले अनुमान गरेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका बरिष्ठ हवलदार पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए ।

मृतकको शव पोस्मार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

२०७९ बैशाख २०, मंगलवार ११:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय