
जनकपुरधाम: धनुषाको शहिदनगर नगरपालिकाका निवर्तमान मेयर उदकुमार बरबरिया (यादव) ले नगरभरिका नागरिकका लागि निः शुल्क रगतको व्यवस्थापन गर्ने घोषणा गरेको छ । उनले नेपाल रेडक्रस साईसाईटीसंगको समन्वयन सहकार्यमा शहिदनगर भरिका जनताको लागि अतिआवश्यक रगतको व्यवस्थापनमा तथा लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने घोषणा गरेका हुन् ।
स्थानीय निर्वाचन २०७९ को घरदैलौ कार्यक्रमको चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले शहिदनगरको स्थानीयबासीको सहयोगमा नियमित रक्तदान गर्ने र रगत अभाव भएकालाई निःशुल्क रगत व्यवस्थापन गर्ने बताएका हुन् । उनले भने, ‘सामुदायिक विद्यालयका छात्रा विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ‘एक नर्स एक विद्यालय’ कार्यक्रमको अवधारणा अघि ल्याएका छौं, जसमा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञानका साथै शारिरीक तथा मानसिक विकासमा सहयोग पु¥याउँछ ।’
‘शहिद सूर्यनाथ रान’ अस्पताललाई जिल्ला अस्पतालको रुपमा विकास गरी शहिदनगर र आसापास क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सेवामा विस्तार गरिनेछ । साथै अस्पतालमा स्वास्थ्य विमा कार्ड लागु गरी गरिब, विपन्न र असहाय व्यक्तिको स्वास्थ्य उपचार सेवामा सहज हुनेछ ।” देशकै कान्छो मेयर रहिसकेका बरबरियाले जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यान दिएर प्रत्येक तीन महिनामा स्वास्थ्य उपचार सेवा निःशुल्क चलाउने बताए ।
नेकपा माओवादी प्रदेश कमिटीका सदस्य समेत रहेका यादवले जन्डिस, मधुमेह, मलेरिया, उच्च रक्तचाप लगायतका बिरामीलाई उपचारमा विशेष सहुलियत प्रदान गरिने जनाएको छ । उनले शहिदनगर नगरपालिकाको प्रतिबद्धता पत्र समेत छिट्टै सार्वजनिक गर्ने बताउँदै त्यसमा नगरको आगामी पाँच वर्षे रणनीतिक योजनाहरुलाई समेटिएको जानकारी गराए ।