
ममता अर्याल,
बर्दिबास (महोत्तरी) : आसन्न स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा बजार, चोक, चियापसल र फुटपाथमा समेत चुनावी आँकलनका छलफल र गफले ठाउँ पाएको छ । राजनीति सरगर्मी चुलिएको छ । आम मानिस पनि उत्साहसाथ उमेद्वारका टिकाटिप्पणीमा मस्त भेटिन्छन् ।
चुनावी यो रन्कोमा बर्दिबास नगरपालिकामा उपप्रमुख (उपमेयर) का प्रतिष्पर्धीको चर्चाले पनि राम्रो ठाउँ ओगटेको छ । मधेशमा “उप त चूप’ आहानमा बाक्लै प्रयोगमा आउने ‘उपप्रमुख’, ‘उपाध्यक्ष’ वा ‘उपसभापति’ पदबारे अहिले चर्चाले ठाउँ पाउनुमा बर्दिबासमा उपप्रमुख पदमा देखिएका चेहरा मुख्य कारण हुन् । जसमा नेकपा (एमाले) नेतृ दुर्गा दाहालको उमेदवारी मुख्य देखिन्छ ।
सरसर्ती हेरिदा देखिदा सबैजसो दलमा पुरुषहरुकै हालीमुहाली देखिन्छ । सम्बिधानले महिला उमेद्वारीको सुनिश्चितता नगरेको भए कुनै ‘देवी’, ‘कुमारी’ वा ‘वती’ नामधारी उमेद्वार हम्मेसी देखिने थिएनन् होला । सामान्यतया सम्बिधानले अर्हाएको यो वाध्यकारी अवस्था ‘फुडफिल’ गर्न दलहरुले ‘उप’ बाट सुरु हुने पद महिलालाई भिराउने गरेका आम स्थिति त जगजाहेर नै छ । दलहरुले उमेद्वारी दिदा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमध्ये एउटा पद महिला उठाउनै पर्ने वाध्यकारी कानूनी अवस्थाले लैंगिक प्रतिनिधित्वको हिस्सा पुरा गर्न अधिकांश महिला ‘उप’ को भागमा पर्छन् । त्यो पनि आफ्नै योगदानबाट पाएको ठहरिन्न । दलमा भाग लगाउँदा ‘ए तपाईंलाई व्यवस्थापन गर्न सकिनेजस्तो भएन, यसो गर्नुस न, ‘उप’ चैं तपाईंकी पत्नीलाई उठाउँ , के गर्ने सबैलाई मिलाउनै पर्यो’ टिकट बाँडफाडमा नेताले आकांक्षी (पुरुष) लाई थुमथुम्याउन यसै भन्ने आम कुरा हो ।
ठाउँठाउँमा कतैकतै मुख्य कार्यकारी पदमा उमेद्वार बनेका महिलाको हकमा पनि उनीहरुको योगदानभन्दा पिता, पति वा नाताका पुरुषपात्रकै ‘विरासत’ मा पाएको बुझिने वा चर्चा गरिने आम चलन छ । ‘उहाँ त फलाना नेताकी छोरी नि !’ वा ‘उहाँ त फलाना नेताकी पत्नी नि !’ महिला उमेद्वारको परिचय खुलाउन प्रयोग गरिने यी शव्दावलिले बनेका कुरा हामीले सुन्दै आएका छौं । यो परिवेशबीच बर्दिबासमा ‘उप’ झुण्डिएकै पदमा दुर्गा दाहालको उमेद्वारीले भने आफ्नै बलबुताको ‘दम’ भन्ने अथ्र्याएको देखिन्छ ।
किशोरावस्थादेखि नै वामप्रजातान्त्रिक आन्दोलनमा होमिएकी दुर्गा दाहालको जेजस्तो परिचय छ , त्यो उहाँकै छ । कसैकी छोरी, पत्नी, बुहारी वा अन्य नाता जोड्न दुर्गाको परिचयमा आवश्यक छैन । पञ्चायतकालका अप्ठ्यारा दिनमा १३/१४ वर्षको किशोर वयमै ‘वाम’ विचार अङ्गिकार गरेकैले विद्यालयबाट ‘रेष्टिकेट’ गरिएकी विद्रोही चेतकी दुर्गा अहिले आसन्न स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिकामा उपप्रमुख पदको उमेद्वार हुनुहुन्छ । महिला मुक्ति आन्दोलनमा महोत्तरीको सशक्त नाउँ बनेकी दुर्गाले विगतमा नेकपा (एमाले) को राष्टिय प्रतिनिधि परिषदमा कैयौं पटक प्रतिनिधित्व गरीसक्नु भएको छ । हाल नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सचिवालय सदस्य रहनुभएकी ५२ वर्षीया दुर्गा ‘उप’ भूमिकाविहीन पद नभएको बताउनुहुन्छ ।
“सम्विधानले उपप्रमुख वा उपाध्यक्ष पदका काम, कर्तव्य र अधिकार खुलाएको छ, यो पदबाटै पनि जनपक्षीय काम गर्नसक्ने प्रसस्त सम्भावना छन् , हामी (म) कानूनले निर्दिष्ट गरेका अधिकार र कर्तव्यबारे सचेत छु” दुर्गा आत्मविश्वाससाथ भन्नुहुन्छ, “हामी यो पदका उमेद्वार सबैले ‘बिचरा’ नबनी कामको सङ्कल्प गरौं, अवस्था फेर्न सम्भव छ ।” स्थानीयतहमा उपप्रमुख/उपाध्यक्ष पद न्यायिक समितिको प्रमुख हुने र कार्यसम्पादनको प्रमुख अनुगमनकर्ता हुने कानूनी व्यवस्थालाई मूर्त रुप दिनसके यो पदको परिचय ‘उप त चूप’ वा ‘बिचरा’ जस्ता शव्दावलिबाट मुक्ति पाउने दुर्गाको दृढ विश्वास छ ।
बर्दिबासमा यसपालि उपप्रमुख पदका १० उमेद्वार छन् । जसमा महिलाको सङ्ख्या नौ छ । कति त अन्य उमेद्वारको सुविधा प्रयोगको भर्याङ् बन्न नै नामधारी उमेद्वार भएका चर्चा छ । जे होस् उपप्रमुख पदमा उमेद्वारीले महिला केही बोल्न, गर्न खोज्दैछन् भन्ने चैं देखाउन खोजेको बुद्धिजीवीहरुको धारणा छ । यो उमेद्वारीको नामतालिकामा दुर्गाको उपस्थितिले चुनावी चर्चा र पदको ओज चुलिएको कुरामा भने आम बुद्धिजीवी सहमत देखिन्छन् ।
“मत पाउने/ नपाउने भन्ने त एउटा पक्ष छँदैछ, तर दुर्गाको उमेद्वारीले उपप्रमुख पदले चर्चा बटुलेको छ” बर्दिबास-१४ का बासिन्दा माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत ७५ वर्षीय खड्गबहादुर सिंह भन्नुहुन्छ, “ओझेलमा पर्ने गरेको ‘उप’ जोडिने पदले व्यक्तिको उपस्थितिले ओज थप्दो रहेछ । ” दुर्गाको उमेद्वारीले अहिले नगरमा ‘उपप्रमुख’ को चर्चा बाक्लिएको सिंहको निष्कर्ष छ ।
आसन्न निर्वाचनमा बर्दिबासमा दुर्गाको उमेद्वारीले उहाँको विचारमा सहमत वा असहमत हुने जोसुकै महिलामा उत्साह भरेको यहाँका सर्वसाधारण महिला पनि बताउँछन् । “दुर्गा दिदी उमेद्वार हुनु भा’ छ, केही नयाँ काम हुने आश जागेको छ” बर्दिबास-२ बुद्धचोककी गृहिणी गायत्री आचार्य भन्नुहुन्छ, “उहाँको उमेद्वारीले हामी सर्वसाधारण महिलालाई हौस्याएको छ ।” चुनावी प्रचार अभियानमा दुर्गा जहाँ पुग्नुहुन्छ , त्यहाँ ‘रौनक’ बढेको देखिन्छ ।
“जसले उर्जावान किशोर र युवा उमेर वाम राजनीतिलाई समर्पित गर्नुभयो, उहाँ दुर्गा दिदी हाम्रो प्रेरक हुनुहुन्छ” बर्दिबास-८ हाथीलेटकी महिला नेतृ बिन्दु किङ्रिङ् भन्नुहुन्छ, “सङ्घर्षले खारिएकी दुर्गा दिदीको चुनावी अभियानमा सरिक हुँदा खास काममा छु भन्ने लाग्छ ।”
मतदानका दिन मतदाताले जे निणर्य गरुन् , तर सिङ्गो चुनावी अभियानमा उपप्रमुख पदले पाएको सघन चर्चा भने दुर्गाको उमेद्वारीले बढाएको एमालेमात्र हैन , अन्य दलका कार्यकर्ता पनि स्वीकार गर्छन् । “हेर्नोस् , भोटको कुरा त म भन्दिन, मेरो फरक निणर्य हुनसक्छ , तर दुर्गा दिदी यहाँको राजनीतिक जागरणको अग्रमोर्चामा देखिदै आउनु भएकी नेता हुनुहुन्छ” बर्दिबास-९ पशुपतिनगरका आपूmलाई लोकतान्त्रिक समाजवादी पार्टी निकट बताउने एक ३० वर्षीय युवाले भन्नुभयो ।
दुर्गाको उपप्रमुख पदको उमेद्वारीप्रति नगरका स्वतन्त्र मतदाता, ब्यापारी, बुद्धिजीवी र आम महिलाले मतदानबारे आपसी छलफल बढाएका छन् । खासमा स्वतन्त्र मतदातामा बढेको दुर्गाको उमेद्वारीबारेको चासोले यस्ता मतदाताले गर्ने निणर्य यसपालि निणर्ायक हुनसक्ने अड्कल गरिदैछ ।