
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन निर्देशन दिएका छन् । निर्वाचन सुरक्षामा खटिएका सशस्त्र कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपुर्ण सहभागीताको प्रशंसा गर्दे निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन निर्देशन दिएका हुन् ।
उनले सामाजिक सञ्जालको प्रयोग गर्नेक्रममा कार्य क्षेत्रको तस्वीर पोष्ट नगर्न समेत निर्देशन दिएका छन् ।‘निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको छ’, महानिरीक्षक अर्यालले भने ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै बिभिन्न निकायहरुसग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेबारी निर्वाहमा क्रियासिल रहन निर्देशन दिएका छन् ।
साथै लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने समेत चेतावनी दिएका छन् । ‘निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ निर्वाचन सुरक्षा, आचारण संहिता र पदयी आचरणमा रहि अनुशासन, ईमान्दारिता र लगशिल भई कार्यक्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफुले गरेका गतिविधिहरुलाई सामाजिक संजालमा सेयर तथा पोष्ट नगर्नु’, उनले भने ।
उनले कमाण्डर तहका अधिकृतहरुले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ लाई भएरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियाशील गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख २५ गते सबै प्रदेशमा एक/एक टोली परिचालन गरेको छ ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिनालाई गण्डकी पठाइएको छ । प्रदेश १ मा किरण बस्नेत उद्धवबहादुर न्यौपानेलाई मधेस प्रदेश, राजेन्द्र खड्कालाई सूदुपश्चिम प्रदेश, युवराज अर्याललाई लुम्बिनी प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षाको लागि खटाइएको छ ।