
बारा : बाराका दुईवटा मतदान केन्द्रमा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ ।
झडपका क्रममा १ जनाको टाउको फुटेको बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए ।
त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए ।
‘विभिन्न ठाउँमा झडपका घटना भइरहेका छन् । हामी त्यहाँ जादैछौं । कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन,’ एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशील केन्द्र हुन् ।