वीरगञ्ज : पर्साको छिपहरमाई गाउँपालिकामा रोकिएको मतगणना मंगलबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । आयोगले पठाएको पत्रमा वडानम्बर २ को मत गणना सुरु गर्न निर्देशन दिइएको छ ।

आयोगका उपसचिव ऋषिराम भुषालले पठाएको पत्रमा कानुनबमोजिम प्रक्रिया पुगी मतगणना प्रतिनिधि अनुपस्थित भएमासमेत मतगणना कार्यलाई निरन्तरता दिन भनिएको छ ।

साथै मतगणना प्रक्रियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई भनिएको छ ।

मतगणनामा खटिएका गाउँपालिकाका कर्मचारीले निवर्तमान अध्यक्ष एवम् एमालेकातर्फबाट अध्यक्षका उम्मेदवार मनोज गुप्तालाई प्राप्त मतभन्दा थप गरेर दिएको भन्दै नेपाली कांग्रेसले विवाद गरेपछि आइतबार दिउँसोदेखि नै मतगणना स्थगित भएको थियो ।

मत परिणाम सार्वजनिक गर्ने क्रममा कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज गुप्ताको मत १५९० लेख्नुपर्ने ठाउँमा ३० मत बढी अर्थात १६२० घोषणा गरेका थिए । मतगणनामा संलग्न कर्मचारीविरुद्ध लिखित कांग्रेसले लिखित उजुरी नै गरेको थियो ।

parsa_nepalvani

मतगणनामा खटिएका कर्मचारी विवादमा परेपछि निर्वाचन अधिकृतको कार्यालयले अर्को टोलीबाट मतगणना गराउने तयारी गरिसकेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहानैदेखि सहमति जुटाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

मंगलबार बिहान असन्तुष्ट पक्षसँग छलफल गरेर सहमति जुटाउने अन्तिम प्रयास गर्ने, सहमति नजुटे आयोगको निर्देशन अनुसार मतगणना कार्यलाई अघि बढाउने निर्वाचन अधिकृत मुकुन्द निरौलाले जानकारी दिए ।

पुनः मतदान गर्नुपर्ने कांग्रेसको माग

नेपाली कांग्रेस तर्फबाट अध्यक्ष पदका उम्मेदवार नवीनकुमार सिंहले वीरगञ्जमा पत्रकार सम्मेलन गरेका छन् । उनले कार्यकारी अधिकृत शम्भु साह र कम्प्युटर अपरेटर सञ्जिव यादवलाई कारबाही गर्नुपर्ने र चेरगाहा मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने माग राखेका छन् ।

‘सम्भौतामा १६३४ मत खसेकोमा मतगणना गर्दा १६५४ भयो, ३० मत कहाँबाट आयो ? १५९० मत सूर्यको आउँदा १६२० कसरी भयो ?’ उनले भने ‘निर्वाचन अधिकृत, निमित्त प्रशासकीय अधिकृत जसलाई हामीले विश्वास गरेर मतपेटिका सुम्पेका छौं, उनीहरूले १५९० को ठाउँमा १६२० गर्न सक्छन भने मत पेटिका नै परिवर्तन गर्न के बेर ? त्यहाँ पुनः मतदान हुनुपर्छ, हैन भने ठूलो खतरा हुन्छ ।’

वडा नं २ सम्भौता चेरगाहामा २ सयभन्दा बढी मरेका मान्छेको भोटसमेत खसेको दाबी कांग्रेसले पत्रकार सम्मेलनमा गरेको छ ।  साभारः अनलाइनखबर


२०७९ जेष्ठ २, सोमबार २१:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय