महोत्तरी : महोत्तरीको बर्दिबास वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ । बर्दिबासको अन्तिम नतिजा सार्वजनिकको पर्खाईमा रहेका नगरबासी मतपेटिका भेटिएको खबरले आश्चर्यमा परेका छन् ।

बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् । बर्दिबास ८ अन्तर्गत बेलगाछी- ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्काे बाकस अर्कै वडाकोमा फेला परेको तामाङले बताइन् ।

मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् । वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो ।

निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा विजयी भएको घोषणा गरिसकेको छ । साभारः ई-कान्तिपुर

२०७९ जेष्ठ ५, बिहीबार १४:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय