
सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।
वडा नम्वर ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुडा गरे । सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।
कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुई वटा गाडीको सिसा समेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन आशुग्यास प्रहार गरेका छन् । प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएपछि अहिले सर्वदलिय बैठक बस्दैछ ।
विना हस्ताक्षरको मतपत्र फेलापरेपछि धांधली भएको भन्दै कांग्रेस कार्यकर्ताहरु विरोध गरिरहेका छन् । मेयरमा कांग्रेस जिल्ला सभापति समेत रहेका पूर्व सांसद रामचन्द्र यादव लडेको र उनी पछाडी परेकाले कार्यकर्ताहरु झन आक्रोशित देखिन्छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । करिब १ सय भोट मात्र गन्ना गर्न बांकी रहेको र कांग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ ।
निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार विना हस्ताक्षरको मतपत्र फेलापरेपछि विवाद हुंदा तत्काल मतगणना स्थगित भएको छ । तर यो विवाद सर्वदलिय बैठकबाट समाधान गरिने प्रयास जारी छ ।