धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट मेयरका उम्मेदवार जितनारायण यादव ३४८ मतान्तरले निर्वाचित भएका हुन्।

मेयरमा निर्वाचित यादवले ३ हजार १०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका राम चलितर यादवले २ हजार ७६० मत पाएका छन्। राप्रपाका जेक्सन हमाल ठकुरीले २ हजार ६७०, नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले २ हजार ५७२ र नेकपा एमालेका पुरुषोत्तम लामा १ हजार ८५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय विरेन्द्रबजारले जनाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा छन्। अघिल्लो चुनावमा उनी तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। त्यसपछि केही दलहरुबीच एकीकरण भएर बनेको जसपामा रहेका यादव फेरि मेयरको टिकट नपाएपछि मनोनयन दर्ताको अन्तिम समयमा लोसपाबाट टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए।

त्यसैगरी उपमेयर पनि नेपाली कांग्रेसकै तुलसा कुमारी पाण्डे ३ हजार २८३ मत ल्याएर निर्वाचित भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी गणिताकुमारी महतो २ हजार ४२९ मत प्राप्त गरेकी हुन्।

उपमेयरमै माओवादी केन्द्रकी श्रीविन्दु मास्के २ हजार २६६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी चम्फा कुमारी श्रेष्ठ २ हजार २६० र नेकपा एमालेकी मिना कुमारी यादव २ हजार ९० मत प्राप्त गरेकी छन्। यादव गणेशमान चारनाथ नगरपालिकाकी निर्वतमान उपमेयर हुन्। अघिल्लो चुनावमा उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएकी थिइन्।

११ वटा वडा रहेको गणेशमान चारनाथ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ३–३ वटा, नेपाली कांग्रेस २ वटा तथा माओवादी, जसपा र जनमत पार्टीले १–१ वटा वडामा जित हासिल गरेको छ।

२०७९ जेष्ठ ७, शनिबार १०:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय