जनकपुरधाम :  धनुषाको सबैला नगरपालिकाको मेयर र उपेयरमा माओवादी केन्द्र निर्वाचित भएको छ। नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएका हुन्।

माओवादीले नेतृत्व जितेको धनुषाको यो पहिलो पालिका हो। अघिल्लोपटक सहिदनगर नगरपालिका जितेको माओवादीले यसपटक भने त्यहाँ हार बेहोर्नु परेको छ। सहिदनगर नगरपालिकामा जसपाले जित निकालेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा सबैला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विजयशंकर साह निर्वाचित भएका थिए। यसपटक भने कांग्रेसले विजयशंकरलाई टिकट नदिएर जगतसुन्दर साहलाई उम्मेदवार बनाएको थियो।

सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका कारीराम माओवादी केन्द्रका नेता मातृका यादवका कान्छो भाइ हुन्। कारीरामले कांग्रेसका उम्मेदवार जगतसुन्दरलाई १३६ मतको अन्तरले पराजित गरेका छन्।

कारीरामले ४ हजार २१२ मत पाउँदा जगतसुन्दरले ४ हजार ७६ मत ल्याएका छन्। त्यस्तै नेकपा एमाले धनुषाका अध्यक्षसमेत रहेका राजकिशोर यादव राकेश ३ हजार ५८१ मत प्राप्त गरेर तेस्रो स्थानमा सीमित भएका छन्।

उपमेयरमा निर्वाचित खातुनले ४ हजार ६९९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी किरण कापरले ३ हजार ६०४ मत ल्याएकी छन्।

२०७९ जेष्ठ ७, शनिबार १२:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय