जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापन अब वडा कार्यालयमार्फत हुने भएको छ। नवनिर्वाचित मेयर मनोज साहले मंगलबार पदभार ग्रहणपछि जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय गरेका हुन्। यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहोर व्यवस्थापन गर्ने गरेको थियो।

वडा कार्यालयलाई थप जवाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रिकरण गर्ने निर्णय मेयर साहले गरेका हुन्। फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्र्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्हन उपाध्याले जानकारी दिए।

‘जनकपुरमा फोहोर व्यवस्थापन प्रमुख चुनौती हो। बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि टोलटोलमा सम्भव हुनसकेको थिएन,’ उपाध्यायले भने,‘उपमहानगरपालिकाका साथै फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निर्णय मेयरज्यूले गर्नुभएको छ।’

त्यस्तै उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णय मेयर साहले गरेका छन्। यसअघि एउटा शाखामा आवद्ध कर्मचारीले अर्को शाखाको काम गर्दै आइरहेका थिए।

‘जुन फाँटका लागि नियुक्ति भएको हो त्यो कर्मचारीले सोही फाँटको काम गर्ने निर्णय भएको छ,’ उपाध्यायले बताए। उपमहानगर कार्यालयभित्र सेवाग्रहीलाई सहज ढंगबाट सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको उनले जानकारी दिएका छन्।

२०७९ जेष्ठ १०, मंगलवार १६:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय