काठमाडाैं : सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

शुक्रबार साँझ काठमाडौंको नयाँ बानेश्वरबाट कोइराला पक्राउ परेका हुन् । उनलाई बानेश्वरकै एक घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।

श्रीमती गीताको हत्या अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि गत २०७७ साउन ८ गते छुटेका थिए । त्यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो।

सर्वोच्चको फैसला आएलगत्तै कोइराला फरार भएका थिए । उनलाई नियन्त्रणमा लिएसँगै थप कारवाहीको प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ।

के थियो घटना ?

रञ्जन कोइराला सशस्त्र प्रहरीका पूर्वडीआईजी हुन्। २०५० सालमा दाम्पत्य जीवनमा बाँधिएका रञ्जन र गीताका दुई छोरा छन्। दुई छोरा जन्मिएपछि कोइरालाको रेग्मी थरकी महिलासँग सम्बन्धमा थिए। उनले पत्नी गीतालाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको परिवारले जनाएको छ। दुवै छुट्टिएर बसेका थिए। कोइरालाले अंशचलान मुद्दा र गीताले कोइरालामाथि मानाचामल मुद्दा हालेका थिए।

तालिमका सिलसिलामा कोइराला २०६८ भदौमा चीन गएका थिए। पुस २१ मा चीनबाट बिदामा स्वदेश फर्के। पत्नी गीताको घरमा गए। पुस २७ मा गीताको घरबाट कान्छो छोरा लिएर आफू बस्ने घरमा राखे। कोइरालाले पुस २७ गते बिहान सशस्त्र प्रहरीका जवान एवं आफ्ना सवारी चालक शंकर पौडेललाई फोन गरी दुइटा ग्यालेन १ सय २३ लिटर पेट्रोल घरमा मगाएका थिए। पत्नीको शव जलाउने योजना बनाइसकेको घटनाक्रमबाट देखिन्छ।

दोस्रोपटक कोही नभएको बेला दिउँसो उनी गीताको घरमा गएका थिए। कोठामै हत्या गरेर पेट्रोलसहित शव लिएर उनले मकवानपुरको सडक छेउमा पत्नीको शव जलाउने प्रयास गरेका थिए। कोइरालाले पुस २७ मै पत्नीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। मकवानपुरको टिस्टुङ-८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। पुस २८ गते जलेको अवस्थामा शरीरका केही अंग भेटिएको थियो। डीएनए परीक्षणबाट ती अंग गीताकै भएको पुष्टि भएको थियो। कोइराला माघ ८ मा नागढुंगामा बा ८ च ५४०८ नम्बरको गाडीसहित पक्राउ परेका थिए।

१० दिनसम्म पनि छोरी नभेटिएपछि बुबा हरेरामले २०६८ माघ ६ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। दुई दिनपछि गीताको शव फेला पर्‍यो। हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जनविरुद्ध जाहेरी दिए। झन्डै साढे दुई वर्षपछि काठमाडौं जिल्ला अदालतले रञ्जनलाई जन्मकैदको फैसला ग‍रेको थियो। अदालतले प्रेमिका भनिएकी रेग्मीलाई एक वर्ष सजाय हुने फैसला सुनाएको थियो। त्यसविरुद्ध तीनै पक्ष तत्कालीन पुनरावेदन अदालत पाटन गए।

२०७९ जेष्ठ १३, शुक्रबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय