
काठमाडौँ : उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी सोमबार बिहानैदेखि खटिएको छ ।
मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।
आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।
खोजी कार्यलाई सोमबार बिहानैबाट निरन्तरता दिइएको छ । २२ जना यात्रु सवार विमान म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ।