
काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ ।
१२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो ।
पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिने तारा एयरले जनाएको छ ।
आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।