
नेपालगन्ज: नेपालगन्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको सालिक राख्ने विषयमा झडप भएको छ।
वीरेन्द्रको सालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि राष्ट्रवादी युवाको समूह र प्रहरीबीच झडप भएको हाे। त्यसक्रममा प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड हवाई फायरसँगै अश्रुग्यास प्रहार गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी एका छन्।झडपका क्रममा केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आइसकेको उनले जानकारी दिए।
यूवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुनेगरी भएको दरबार हत्याकाण्डकै दिन (जेठ १९ मा) नेपालगन्जस्थित धम्बोझी चोकमा वीरेन्द्रको सालिक राखेको थियो।
प्रहरीले धरपकड गरी सालिक झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्रोतले जनाएको छ। सालिक राख्ने कार्यमा संलग्न युवाको समूहलाई प्रहरीले लाठी बर्साउनुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरी तितरबितर बनाएको बताइएको छ।
यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्वराजा त्रिभुवनको सालिक राखेको थियो। सो सालिक हटाउने प्रयास गरिए पनि सर्वसाधारणले विरोध गरेपछि प्रहरी प्रशासन पछि हटेको थियो।