काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी नयाँ हिरोसँग बाँधिने भएको छ । फिल्ममा उनको अपोजिटमा निश्चल खड्का अनुबन्ध भएका हुन् । अष्ट्रेलियामा अध्ययन सकाएर अभिनयमा भविष्य बनाउनका लागि नेपाल फर्किएका उनले केही विज्ञापनमा मोडलिङ गरिसकेका छन् । अष्ट्रेलियामा बस्दा पनि केही मोडलिङ इभेन्टमा उनले सहभागिता जनाएका थिए ।

फिल्ममा साम्राज्ञी र निश्चलसँगै गरिमा शर्मा र कबीर खड्का पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । टिकटकबाट उदाएर म्यूजिक भिडियोमा छाइरहेकी गरिमाले ‘लण्डन टु पेरिस’ अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्ममा उनीसँग पनि निश्चलले नै रोमान्स गर्ने जानकारी प्राप्त छ । अब बाँकी अन्य कलाकारहरु लण्डनबाटै छनोट गरिने निर्देशक घनश्याम लामिछानेले बताए ।

केही हप्तादेखि नाट्यकर्मी सरिता गिरिले फिल्मका कलाकारहरुलाई वर्कसप गराइरहेकी छन् । एबी इन्टरनेशनलले निर्माण गर्न लागेको फिल्मको बेलायत र फ्रान्समा छायांकन हुनेछ । आगामी असार दोस्रो साताबाट छायांकन थालनी हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए ।

‘लण्डन टु पेरिस’को निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्माता अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो । यो फिल्म प्रदर्शनको पखाईमा रहेको छ । त्यस्तै, एबीको अर्को फिल्म ‘हनी बनी’को दुई सातादेखि लण्डनमा छायांकन भइरहेको छ ।


२०७९ जेष्ठ २१, शनिबार ०६:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु