काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कामको अनुगमन गर्ने भएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन नियमित अनुगमनका लागि संयन्त्र बनाउने तयारी गरेको हो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीका स्थानीय समिति र निर्वाचित जनप्रतिनिधिबीच तालमेलमा फराकिलो दूरी देखिएकाले समन्वयका लागि पनि संयन्त्र आवश्यक रहेको बताए। ‘पार्टीमा निर्वाचित साथीहरूका लागि अनुगमन गर्ने संयन्त्र निर्माण गर्दैछौं। २०७४ मा निर्वाचित जनप्रतिनिधि साथीहरूले पार्टीबाट पाउनुपर्ने सहयोग र सुझाव दिनबाट विगतमा हामीले गर्न नसकेका कमीकमजोरी सच्चाएर अघि बढ्नेछौं,’ खड्काले भने, ‘पार्टीबाट प्रतिनिधि भएका साथीहरूले गरिरहेका कामहरूको अनुगमन गर्ने सोचमा छौं। पार्टीबाट नियमित सुझाव, सहयोग र अनुगमन गर्नेछौं । यसपटक हामी सचेत छौं।’

ललितपुरमा आइतबार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको स्वागतका लागि आयोजित कार्यक्रममा उनले भने, ‘विगतमा हामीले अनुगमनको प्रयास पनि गरेका हौं। तर, त्यो प्रभावकारी हुन सकेन। अब त्यसलाई पनि सच्याएर अगाडि बढ्नेछौं। पार्टीबाट संस्थागत अनुगमनको प्रवन्धमार्फत हाम्रा जनप्रतिनिधिलाई निरन्तर सुझाव र सहयोगका साथै काम कर्तव्यप्रति जिम्मेवार बनाउने काम गर्छाैं।’

उपसभापति खड्काले स्थानीय तहका निर्वाचित प्रतिनिधि र पार्टीका स्थानीय समितिले एक–अर्काबाट सहयोग नभएको गुनासो आउने गरेको बताए। ‘निर्वाचितहरू विस्तारै आफ्नो लयमा जाने अनि पार्टीका साथीहरू जसले पसिना बगाएर निर्वाचित गराए। उनीहरू पाखा लाग्ने अवस्था आउनुहुन्न। साथै पार्टीका साथीहरूले पनि निर्वाचित जनप्रतिनिधिको विरोध मात्रै गर्ने गरेको गुनासो आउने गरेको छ। अब यी सबैको सम्बोधन गर्ने गरी हामी अगाडि बढ्छौं,’ उनले भने।

पार्टी र निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनुपर्नेमा उपसभापति खड्काको जोड थियो। ‘संस्थागत रूपमा बाँधिएर सामूहिकताको भावनाले पार्टी र स्थानीय निकाय अगाडि बढाउनुपर्छ। यसको कार्यान्वयनका लागि केन्द्रबाट निगरानी आवश्यक पर्दछ,’ उनले भने। पार्टीभित्रका असन्तुष्टिहरू सार्वजनिक मञ्चमा नभई आन्तरिक छलफलमा राख्न सुझाव दिँदै खड्काले भने, ‘हाम्रा उम्मेदवारहरू जो टिकट पाएर पार्टीको चुनाव चिह्न लिएर पराजय भोगेकाको भूमिका ५ वर्षको उत्तिकै महŒव हुन्छ। उहाँहरूले बारम्बार खबरदारी गर्ने। ५ वर्षका लागि त्यो भूगोलमा पार्टीको प्रतिनिधिको हिसाबले निर्वाचित जनप्रतिनिधिलाई झक्झकाउनुहोस्। कहाँ कमीकमजोरी छ देखाउने र सुझाव दिने काम गर्नुहोस्। मुलुकको संविधान र स्थानीय तहको ऐनले दिने कामलाई अनुमति दिनुहोस्।’

संयन्त्र समितिको विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने देशभरिबाट निर्वाचितलाई पार्टीले केन्द्रबाटै सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पार्टीको कर्तव्य भएको बताए। ‘अनुगमन संयन्त्र बनाएर जाँदा निर्वाचित साथीहरूलाई काम गर्ने सहज वातावरण बन्ला।

अर्कोतिर पार्टीले समन्वयकारी भूमिका खेल्दिँदा निर्वाचित साथीहरूलाई काममा हौसला मिल्न सक्छ,’ उनले भने।  ललितपुरका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका अर्का नेता उदय रानाले निर्वाचन जितिसकेपछि व्यक्तिले नभई पार्टीले जितेकाले काम गर्दा पार्टीसँग पनि समन्वय गर्न अनुरोध गर्दै भने ।


२०७९ जेष्ठ २४, मंगलवार ०९:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय