निर्वाचन प्रचार सामग्रीले कुरुप जनकपुर

जनकपुरधाम : स्थानीय तहको निर्वाचनमा जनकपुरधामको फोहर व्यवस्थापन, धार्मिक सम्पदा, मठमन्दिर, पार्टीपौवा, गुठी र वातावरणीय सौन्दर्यताको नारा लिएर हरेक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले घोषणापत्र सहित निर्वाचनमा होमिए । हरेक राजनीतिक दलले फोहर, कुरुप र सौन्दर्यीकरणका लागि उम्मेदवारी दिएको घोषणापत्र नै सार्वजनिक गरे । तर उम्मेदवारहरुले जनकपुर सफा गर्ने बाचा गरिरहेको बेला उनीहरुले नै जनकपुरलाई कुरुप बनाउने क्रियाकलाप समेत गरेको पाईएको छ ।

स्थानीय तहको निर्वाचन सकिएको झण्डै तीन साता वितेको छ । निर्वाचनको अन्तिम परिणाम आएर कार्यपालिका समेत गठन भैसकेको छ । मत परिणामपछि विजयी भएका उम्मेदवारहरु पदभार ग्रहण गरेर कामकाज समेत सुरु गरी खुशी साट्नमा उनीहरु व्यस्त छन् । निर्वाचनमा पराजित भएका उम्मेदवार र दलहरु पनि आन्तरिक समिक्षामा जुटेका छन् । तर निर्वाचनको परिणाम सार्वजनिक भएको झण्डै तीन हप्ता पुग्नै लाग्दा समेत निर्वाचनको वेलामा प्रयोग भएको प्रचार सामग्रीहरु हटेका छैनन् ।

निर्वाचन प्रचारका क्रममा जिल्लाका राजनीतिक दल र तिनका उम्मेदवारले मत माग्न प्रयोग गरेका प्रचार सामग्रीहरु हटाउने तर्फ भने हालसम्म कसैले ध्यान दिएका छैनन् । यसको सबैभन्दा असर मधेशको राजधानी सदरमुकाम जनकपुरधाम र मुख्य बजार क्षेत्रमा परेको छ । दलहरुले विभिन्न स्थानमा टाँगेका झण्डा, चुनाव चिन्ह र पर्चा तथा पम्फेटहरु हटाएका छैनन् जसले जनकपुरको सौन्दर्यता कुरुप बनाएको छ ।

आफ्नो पक्षमा माहोल सिर्जना गर्न र मतदातालाई आकर्षित गर्नका लागि निर्वाचन भन्दा अगाडी दलहरुले प्रचार सामग्रीमा चर्को प्रतिस्पर्धा नै गरे । सार्वजनिक स्थलहरु ऐतिहासिक तथा धार्मिक स्थल, बाह्रविघा, तीरहुतिया गाछी, जानकी मन्दिरको पर्खाल मात्र हैन, सार्वजनिक पार्टीपौवा र चौतारामा मात्रै होइन, सरकारी कार्यालयका गेट र पर्खालहरुमा जथाभावी पर्चा र पम्पिलेटले टाँसिए ।

सार्वजनिक स्थलका रुखदेखी विद्युतका पोल पनि बाँकी रहेनन् । लाखौं रकम खर्चेर प्रतिष्पर्धी पार्टी भन्दा दोब्बर प्रचार-प्रसार गर्ने र जनताको मन जित्न दलहरु बीच रस्साकस्सी नै चल्यो । यसकारण प्रचार सामग्रीको प्रयोग बढी भयो । अहिले पनि मतदातासँग भोट मागिरहेका प्रचार सामग्री यत्रतत्र असरल्ल रहेका छन् । निर्वाचनको मतपरिणाम सार्वजनिकपछि दलहरु समिक्षा र विजयी जुलुसमा देखिदै कार्यकाल सुरु गरिसकेको छन् ।

निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिहरुलाई आममतदाताबाट बधाई थाप्न भ्याइनभ्याइ छ । उनीहरु शहर बजार र गाउँ/गाउँमा पुगेर मतदातालाई धन्यवाद दिनमा समेत भ्याएका छन् । निर्वाचनमा पराजय भएका दलहरु यतिबेला पार्टी हार्नुको समिक्षा गरिरहेको छ । तर सार्वजनिक स्थल, पार्टी पौवा, चौतारा, विद्युतका पोल तथा रुखहरुमा टाँसेका प्रचार सामाग्रीहरु हटाइएका छैनन् । चुनाव सकिए पनि शिवचोक, भानुचोक, जानकी मन्दिर, बाह्रविघा, तीरहुतिया गाछी, सडक वरिपरका पर्खाल, बिजुलीका खम्बा तथा नगरका टोल-टोलमा राखिएका प्रचार सामग्री हटाइएको छैन् ।

चुनाव परिणाम लगतै घरदैलो अभियानमा मतदातासँगको भेटघाटमा व्यस्त संगसंगै कार्यपालिकाको निर्वाचनमा व्यस्त भएकाले प्रचार सामग्री हटाउन नपाइएको नेपाली काँग्रेसबाट वागी स्वतन्त्र उम्मेदवार तथा जनकपुरधामका मेयर मनोज कुमार साह बताए ।’ अहिले मतदातालाई धन्यवाद दिन, निर्वाचनको अन्ति प्रक्रिया भर्खर सम्पन्न भयो, त्यसैले यताउताको काममै व्यस्त छौं’ उनले भने, ‘अबको केही दिनमा सर्वदलीय बैठक बोलाएर मेयर देखि वडा अध्यक्ष सम्म र जिल्ला तहका नेताहरुको बैठकबाट सबैलाई आ-आफ्नो सामग्री हटाउन आग्रह गर्छौ । नभए कर्मचारी खटाएर प्रचार सामाग्री हटाउनेछौं ।’

नेकपा एमालेको तर्फबाट उम्मेदवार शिवशंकर साह (हिरा)ले आफूहरुले कुनै पनि हालतमा प्रचार सामग्री हटाउने भन्दै केही ढिला भएको स्वीकार गरे । नेकपा एमालेसंगै अन्य राजनीतिक दलको तर्फबाट प्रयोग भएका सामग्री हटाउन आफूहरु तयार रहेको उनले जनाए । उनले भने, मेरो स्वास्थ्य अस्वस्थ्य भएर उपचारको क्रममा छु । निर्वाचनपछि प्रचार सामग्री हटाउने चुनावमा प्रचार गरिएका सबै सामग्री हटाउन प्रचार समितिलाई निर्देशन दिइसकेको छु ।’

‘पार्टीको तल्लो तहसम्म, हामीले प्रचार सामग्रीलाई तत्काल हटाउन भनेका छौं’ नेकपा एमालेका धनुषा ईन्चार्ज रामचन्द्र मण्डलले, ‘कँहीकतै छुटेका ठाउँमा केही दिनमा सफा पारिन्छ, यसमा हामी सचेत र तयारी हालतमा छौं ।’ यता जिल्ला प्रशासन कार्यालयले भने चुनावमा मौन अवधी शुरु हुनुभन्दा पहिले देखिनै प्रचार सामग्री हटाउन निर्देशन दिइएको जनाएको छ । आफूहरुले मौखिक रुपमा निर्देशन दिएको भन्दै प्रशासनले दलहरुले भने अटेर गरेको बताएको हो । निर्वाचन सकिए पनि प्रचार सामग्री नहाटाउँदा सार्वजननिक स्थलहरुमा फोहोर र कुरुप बनेका छन् ।


२०७९ जेष्ठ २४, मंगलवार १९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय