काठमाडौं : काठमाडौंको हात्तिसारमा अवस्थित नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीपका लागि गएकी २१ वर्षीया विद्यार्थी बलात्कृत भएकी छन्।

गेट कलेजमा होटल म्यानेजमेन्ट पढ्दै गरेकी उनी अन्य पाँचजना विद्यार्थीसँगै गत शुक्रबार नेपाल हाउस पुगेकी थिइन्।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त सूचनाअनुसार शुक्रबार रेस्टुरेन्टका सञ्चालक क्षितिज लामिछानेको वैवाहिक वर्षगाँठको अवसरमा पार्टी आयोजना गरिएको थियो। पार्टीकै लागि लामिछानेले ती विद्यार्थीहरुलाई बोलाएको प्रहरीको भनाइ छ। लामिछाने गेट कलेजमा अध्यापनसमेत गराउँदै आएका छन्। गेट कलेजका अन्य विद्यार्थीहरुसमेत त्यही ‘इन्टर्न’ गर्दै आएका छन्।

पार्टी चलिरहेकै अवस्थामा रेस्टुरेन्टमा कार्यरत जीवन फुयाँल खत्रीमाथि ती विद्यार्थीलाई बाहिर बोलाएर बलात्कार गरेको आरोप लागेको छ।

दोलखा घर भएका खत्री वेटरको रुपमा कार्यरत रहेको र शुक्रबार राति साढे १० बजे ‘स्मोकिङ जोन’मा लगेर बलात्कार गरेको पीडित विद्यार्थीले प्रहरीसमक्ष बयान दिएकी छन्।

प्रहरीका अनुसार खत्रीले ‘कोल्ड ड्रिङ्स’मा मदिरा मिसाएर खुवाएको र नशा लागेपछि बलात्कार गरेका थिए।

प्रहरीले खत्रीलाई शुक्रबार राति नै प्रक्राउ गरेको छ। नेपाल प्रहरीको दरबारमार्ग वृत्तबाट गएको टोलीले खत्रीलाई प्रक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले पुष्टि गरेका हुन्। ‘बलात्कार भएको भन्ने खबर प्रहरीले पाउनासाथ राति नै गएर युवतीको उद्धार र युवकलाई प्रक्राउ गरिएको हो। घटनाको अनुसनधान जारी छ,’ गिरीले अन्नपूर्णसँग भने।

पीडित विद्यार्थीले परिसरमा जाहेरी दिएकी छन्। घटनाको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले आरोपित खत्रीलाई सोमबार ७ दिनको म्यादसमेत थपेको छ।

घटना सम्बन्धमा नेपाल हाउसका सञ्चालक क्षितिज लामिछानेले रेस्टुरेन्टमा पार्टी चलेको समयमा घटना घटेकाले आफूले तत्कालै थाहा नपाएको बताए। ‘घटना थाहा पाउनासाथ हामीले प्रहरी बोलाएका हौं। ती वेटर हाम्रोमा तीन महिनाअघि मात्रै काम गर्न आएका थिए,’ लामिछानेले अन्नपूर्णसँग भने।

अरुबेला राम्रै व्यवहार देखाउने खत्रीको खराब नियतबारे आफूले थाहा नपाएको लामिछानेको भनाइ छ। उनले कानुनी उपचारमा पीडित पक्षलाई सहयोग गर्ने बताए।

२०७९ जेष्ठ २५, बुधबार ०८:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय