
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एकअर्काका प्रतिस्पर्धी मानिने दुई अभिनेत्री पूजा शर्मा र आँचल शर्माको फिल्म बक्सअफिसमा भिड्ने भएका छन् ।
यसअघि भदौ ३१ लाई प्रदर्शन मिति तोकिएको आँचल अभिनीत फिल्म ‘झिंगेदाउ’ दुई हप्ताअघि सरेर भदौ १७ मा आएपछि उनको भिडन्त पूजासँग निश्चित भएको हो । यो मितिमा पूजा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।
यी दुई फिल्म दुवै शर्मा अभिनेत्रीका लागि बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । आँचल अभिनीत पछिल्ला फिल्मले हलमा घुँडा टेकेकाले ‘झिंगेदाउ’ सफल भए उनको करिअरलाई धेरै ठूलो राहत मिल्नेछ । त्यस्तै, पूजालाई बाहिरी ब्यानरको फिल्म पनि सफल बनाएर आफ्नो स्टारडम प्रमाणित गर्नुपर्ने चुनौती छ । त्यसैले दुई अभिनेत्रीको फिल्मको भिडन्त रोचक हुने देखिन्छ ।
शुक्रवार दुई पोस्टर सार्वजनिक गर्दै भदौ १७ लाई प्रदर्शन मिति घोषणा गरिएको ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा हुन् । केही दिनअघि १५ लाख खर्चेर निर्माण टिमले एक गीत खिचेको थियो । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्ममा आँचलसँगै अभिनेत्री केकी अधिकारीको पनि मुख्य भूमिका छ । फिल्ममा उनीहरु जेठानी र देवरानीको भूमिकामा छन् ।
अभिनेता द्वय मुकुन भुषाल र कुशल बिष्टको पनि मुख्य भूमिका रहेको यो फिल्म भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।