
महोत्तरी : राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त अध्यक्ष धर्मेन्द्र झा ‘विह्वल’ ले स्थानीय सम्भावनाहरु समृद्धिका मुख्य आधार हुनसक्ने बताउनु भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकाको सम्मान ग्रहण गर्दै नवनियुक्त अध्यक्ष झाले आज बुधबार त्यस्ता सम्भावनाको खोजी र तिनको सफल कार्यान्वयनको बाटो पहिल्याउन नगरप्रमुखसहितका जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । गत सोमबार राससका अध्यक्ष नियुक्त झालाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरको अतिथि सदनमा आयोजित समारोहमा दोसल्ला ओढाइ सम्मान गर्नु भएको हो ।
“मटिहानीको विकास र समृद्धिका लागि यहींकै स्थानीय सम्भावना प्रचुर छन्” झाले भन्नुभयो, “तिनलाई पहिल्याउने र सफल कार्यान्वयन गर्दै अगाडि बढे विकासको गतिले फड्को मार्नेछ ।” मटिहानी प्राचीन संस्कृति र परम्पराको पहिचान बोकेको ठाउँ हुनु र उर्वर भूमि हुनुले यहाँको विकास र समृद्धिको सपना हेरिनुमा यी विषय योजनामा समेटिनु पर्ने झाको सुझाव छ ।
विगतमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष रहीसक्नु भएका झाले मटिहानीमात्र नभएर सिङ्गो मधेश र प्राचीन मिथिलाका सबै धार्मिक, पौराणिक र अन्य परिचयको खोजी गरी यस्ता विषय उजागर गर्न महोत्तरीका पत्रकारलाई आग्रह गर्नुभयो । “तपाईंहरु मिहीं ढङ्गले यहाँका सम्भावनाको खोजी गरेर आआफ्ना सञ्चारमाध्यमा खोज सामग्री पठाउनोस्”पत्रकारतर्फ इङ्गित गर्दै झाले भन्नुभयो, “तपाईंहरुका प्रकाशित यस्ता सामग्रीले स्थानीयतह र सरकारका अङ्गहरुलाई विषयको प्राथमिकिकरण गर्न सहयोग पुग्नेछ ।”
मटिहानी रामायणकालीन जनश्रुतिअनुसार रामसीताको विवाहमा यज्ञवेदि बनाउन माटो खनिएको ठाउँ भएको विश्वास गरिन्छ । त्यसैगरी यहाँस्थित लक्ष्मीनारायण मन्दिर, पिरबाबास्थान, लक्ष्मीनारायण मठ र लक्ष्मीसागर धार्मिक सद्भाव र आपसी समन्वयका प्रतीकका रुपमा रहेका सम्पदा हुन् । मटिहानीमै ३०४ वर्ष पुरानो संस्कृत पाठशाला (अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय) र महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) छ । राससका नवनियुक्त अध्यक्ष झाले यहाँको विकास र समृद्धिमा यी सबै सम्पदाको प्रबद्र्धनमा जोड दिनपर्ने सुझाव दिनुभयो । यसबाहेक उर्वर भूमि भएको हुँदा कृषि प्रबद्र्धनमा ध्यान दिनसके यहाँका किसानको जीवनस्तर उक्सनसँगै यसले मुलुककै आर्थिक विकासमा मद्दत पुर्याउने झाले उल्लेख गर्नुभयो ।
सम्मान समारोहमा नगरप्रमुख मण्डलले नगरको विकासका लागि प्राप्त सुझाव निकै महत्वका रहेका बताउँदै यीभित्रका सबै सम्भावनाको प्रचुर उपयोग गरिने प्रतिबद्धता जनाउनुभयो । यसअघि झाले लक्ष्मीनारायण मन्दिरमा पूजा अर्चना, लक्ष्मीसागर र इस्लाम धर्मपरम्पराका सन्त पिरबाबाको मजार अवलोकन गर्नुभयो । झाले संस्कृत पाठशाला र विद्यापिठ परिसरको पनि अवलोकन गर्नुभयो । झालाई त्यहाँका साधुसन्त बटुकले स्वस्तिवाचन गरी सम्मान गरेका छन् ।