
काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी महिला कर्मचारीका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । हत्याको आशंका गर्दै उनीहरुले शव उठाउन मानेका छैनन् ।
केएमसी स्कुलको क्यान्टिनमा काम गर्दै आएकी काभ्रेको तेमाल गाउँपालिका-८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रमा केएमसी स्कुलमा पाँच वर्षदेखि काम गर्दै आएकी थिइन् ।
स्कुलको ग्राउण्ड फ्लोरको होस्टलको बेड (ओच्छ्यान) मा उनी झुण्डिएको अवस्थामा मृत्त फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मृत्तक युवतीका आफन्तले हत्या भएको आशंका गर्दै शव उठाउन दिएका छैनन् । अहिले उक्त विद्यालयमा मानिसको भिड लागेको छ । आफन्तले शव उठाउन अस्वीकार गरेको र मानिसको भिड बढेका कारण अहिले त्यहाँ ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
हरेक बिहान ७ बजे स्कुल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी थालेका थिए । त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत फेला परेकी हुन् । मृतक युवती परिवारकी जेठी छोरी हुन् । उनका तीन बहिनी र एक दाइ रहेको आफन्तले जानकारी दिएका छन् । आमा-बुबा गाउँमै खेती गर्छन् । शनिबार बेलुका नै घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।