
राैतहट : विद्यालयमा मदिरा पार्टी गरेको विषयमा गढिमाई नगरपालिककाले सो विद्यालयका प्रधानाध्यापकलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको छ ।
रौतहटको गढिमाई नगरपालिका वडा नम्वर ७ धनारी गाउँमा रहेको माध्यामिक विद्यालय धनारीका शिक्षकहरुले असार १५ गते विद्यालयमै मदिरा पार्टी गरेका छन् । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानिय युवाहरुले खिचेर सामाजिक संजालमा अपलोड गरेका थिए ।
सो विषयमा विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन प्रशारण भएका थिए । विद्यालयजस्तो पवित्र स्थानमा बसेर मदिरा पार्टी गर्ने शिक्षकहरुहरुको अहिले तिब्र आलोचना भइरहेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले शनिबार विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादवलाई स्पष्टिकरण माग गरिएको पत्र लेखि सो विषयमा नगरपालिकाको गम्भिर ध्यानकषर्ण भएको जनाएको छ ।
‘ मिति २०७९ असार १५ गते बुधवारका दिन “१९ औं राष्ट्रिय धान दिवस- २०७९“ को अवसरमा तपाई स्वयम् लगायत शिक्षक/शिक्षिका, कर्मचारीहरुको सहभागितामा विद्यालय परिसर भित्र कानून विपरीत आयोजना गरिएको मादक पदार्थ सहितको भोजभतेर कार्यक्रमको श्रव्यदृश्य सहितको सामाचार विभिन्न सामाजिक सञ्जाल (फेसबुक, पत्रपत्रिका) बाट भएको सम्प्रेषण प्रति गढीमाई नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानाध्यापकले शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विधालयमा अनुशासन, सच्चरित्रता, शिष्टता कायम गर्न आवश्यक काम गर्ने, कुनै शिक्षक वा कर्मचारीले जानीजानी वा लापरवाहीसाथ कानून विपरीत कुनै काम गरेमा सोको खबरदारी गर्ने गढीमाई नगरपालिकाको शिक्षा नियमावली, २०७४ र नगर शिक्षा ऐन, २०७६ मा व्यवस्था रहेको छ’ पत्र मा भनिएको छ ।
सो स्पष्टिकरण पत्रमा प्रधानाध्यापकलाई शैक्षिक तथा सामाजिक वातावरणमा पर्ने नाकारात्मक असरको संवेदनशिलतालाई नजरअन्दाज गरी प्रचलित कानून विपरीत मादक पदार्थ निषेधित विद्यालय क्षेत्रमा मादक पदार्थ सहितको भोजभतेर के÷ कति कारणले गर्नु परेको हो ? तहाँबाट यस्तो गैरपेसागत क्रियाकलाप किन गरिएको हो ? सामाजिक तथा शैक्षिक वातावरण लगायत प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुले पालना गनुपर्ने आचार संहितामा समेत नकारात्मक प्रभाव पार्ने कार्य के-कसरी हुन गएको हो ? प्रश्नको जवाफ सहित २४ घण्टाभित्र सत्य तथ्य सहितको लिखित स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन जानकारीसाथ अनुरोध गरिएको छ ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत यादवले आफुहरु समग्र गढिमाई नगरपालिकाको शिक्षाको सुधारमा योजनावद्ध ढंगले लागिरहेको अवस्था विद्यालय हाताभित्र शिक्षकहरुले गरेको सो कृयाकलापले धेरै नराम्रो सन्देश दिएको भन्दै यसलाई नगरपालिका गम्भिर रुपमा लिएको बताए । उनले प्रधानाध्यपाकले लिखित स्पष्टिकरण बुझाइसकेपछि थप के गर्ने भन्ने बारेमा नगर प्रमुख सहित सरोकारवाला बसेर निर्णय गर्ने बताए ।
हेर्नुस भिडियो !