
नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाएका थिए ।
तस्बिरमा SMACS 0723 नाम गरेको एउटा तारापुञ्जको समूहलाई कैद गरिएको छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ । गत वर्षको डिसेम्बरमा ब्रह्ममाण्डको अन्वेषण गर्नका लागि नासाले यो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो ।
नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट तस्बिर भएको बताइएको छ । तस्बिरमा हजारौं आकाशगंगाहरु जेम्स वेब टेलिस्कोपको एउटा तस्बिरमा अटाएको नासाले जनाएको छ ।
हाम्रो आकाशगंगा तारापुञ्जभन्दा धेरै टाढा रहेका अन्य तारापुञ्जहरु तस्बिरमा कैद छन् । कैद भएको तस्बिरमा देखिएका ताराहरुबाट निस्केको प्रकाश सौर्यमण्डल आइपुग्न अर्बौं वर्ष लागेका तारापुञ्जको प्रकाशसमेत कैद भएको नासाले बताएको छ । यसअघि नासाको हब्ल स्पेस टेलिस्कोपले खिचेको तस्बिरभन्दा यो तस्बिर धेरै नै सघन र स्पष्ट छ ।
यो तस्बिर टेलिस्कोपको नियर-इन्फ्रारेड क्यामेरा(एनआईआर क्याम) ले कैद गरेको हो । सार्वजनिक गरिएको यो तस्बिर एनआई क्यामले साढे १२ घन्टासम्मको अवलोकन गरेर निकालेको नासाले जनाएको छ । हबल स्पेस टेलिस्कोपले यस्तै खालका तस्बिर खिच्नका लागि हप्तौं लगाउने नासाद्वारा जारी सूचनामा उल्लेख छ ।
नासाले सार्वजनिक गरेको यो तस्बिर टेलिस्कोपको पहिलो पूर्ण रंगिन तस्बिर रहेको जनाएको छ । यस सम्बन्धी अन्य तस्बिर र विवरण नासाले अमेरिकाको स्थानीय समयअनुसार मंगलबार सार्वजनिक गर्दै छ ।
नासाका दोस्रो प्रशासक(प्रमुख) रहेका जेम्स वेबको नाममा यो टेलिस्कोप तयार गरिएको हो । जेम्स वेब सन् १९६१ देखि १९६८ सम्म नासाको प्रमुख थिए । ब्रह्माण्डको धेरै टाढा, कुना,कुना र विगतबारे थाहा पाउनु यो टेलिस्कोपले उद्देश्य रहेको छ ।
सन् २०२१को डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोपले हामीले यसअघि कहिल्यै नदेखेको समयको बारेमा पनि अध्ययन गर्ने नासाले जारी गरेको सूचनामा उल्लेख छ ।