
बर्दिबास : देशको आर्थिक अवस्था कमजोर भइरहेको बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक रुपान्तरणका लागि काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
मधेश प्रदेशमा जसपाबाट निर्वाचित पालिकाका अध्यक्ष/मेयर, उपाध्यक्ष/उपमेयरको सम्मान कार्यक्रममा अध्यक्ष यादवले भने, लोकतन्त्रले मात्र मुलुकमा आमूल परिवर्तन आउन नसक्ने भएकाले अव सामाजिक र आर्थिक रुपान्तरणको आवश्यकता छ । जसपा मधेश प्रदेश समितिद्वारा शुक्रवार आयोजित सम्मान कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा आमूल परिवर्तनका लागी अझ संघर्षको आवश्यकता रहेको उनले बताए ।
‘ राजनीतिक संघर्षले देशमा राजनीतिक परिवर्तन ल्याएको छ’ उनले भने, आर्थिक र सामाजिक परिवर्तनका लागि जनप्रतिनिधिहरुले योजनाबद्ध रुपमा काम गर्नुपर्छ । प्रदेश अध्यक्ष प्रदेश सभासद रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष यादवले भने, पार्टीको आगामी कार्यदिशा नै सामाजिक र आर्थिक रुपान्तरण हुनेछ ।
‘पछाडि पारिएका समुदायलाई मूलधारमा ल्याउन सामाजिक र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक छ ’ यादवले भने, सिमान्तकृत वर्गलाई समाजका मूलप्रवाहमा ल्याउन उनीहरुको आर्थिक उत्थान गर्नु आवश्यक छ । ‘नेपालमा रहेको निर्वाचन प्रणालीले राजनीतिक लोकतन्त्रलाई विकृत बनाएको छ ’ उनले भने, त्यसकारण देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहीन स्थानीय तह आजको मूल आवश्यकता हो ।
मधेश प्रदेशमा जसपाले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको नेताहरुले बताइरहेको बेला निर्वाचन प्रणालीमा रहेको विकृतिलाई हटाउन स्थानीय तहमा दलगत प्रणालीलाई हटाउनुपर्नेमा अध्यक्ष यादवले जोड दिएका हुन् । नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा प्रदेश सभासद, केन्द्रीय सदस्यहरुले मञ्चमा स्थान पाएनन् ।उनीहरु आमन्त्रण बिना नै कार्यक्रममा पुगेकाले मञ्चमा आसनग्रहण नगराइएको प्रदेश कमिटीका एकजना पदाधिकारीले बताए ।