
काठमाडौं : बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।
यस्तै, सप्तकोसीको बाढीले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती कटान गरेको छ । बाढीले कोसीको मध्य भागमा रहेको यो बस्ती बर्सेनि डुबानमा पर्दै आएको छ ।