ममता अर्याल,

महोत्तरी : नेकपा (एमाले) ले झण्डै दुई दशकपछि महोत्तरीमा जिल्ला अधिवेशनको तयारी बढाएको छ । विक्रम सम्वत् २०६० ताका पाँचौं जिल्ला अधिवेशन गरेको एमालेले बल्ल आज छैठौं जिल्ला अधिवेशन आयोजना गर्ने औपचारिक निणर्य गरेको हो । एमाले महोत्तरीले आउने असोज ५/६ गते जिल्ला अधिवेशन गर्ने निणर्य गरेको छ ।

यसअघि जिल्ला अधिवेशन आयोजना गर्ने पटकपटक चर्चा गरिएपनि अधिवेशन आयोजक कमिटी गठनमै आन्तरिक खिचोलाले यो काम अल्झदै आएको थियो । भर्खरै पार्टीको मधेश प्रदेश कमिटीले कालीचन्द्र साहलाई संयोजक तोकेर ५५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेपछि आन्तरिक सहमति जुटेर आज जलेश्वरमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एमालेको यो जिल्ला अधिवेशन आयोजक कमिटी नेकपा कालीन प्रस्तावित जिल्ला कमिटीभित्रको एमालेसँग आवद्ध रही आएका हरुबाट बनेको हो ।

सपथ ग्रहणसँगै बसेको जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले आउने भदौ २० सम्म सदस्यता नविकरण गर्ने , २१ ग्तेदेखि भदौ मसान्तसम्म स्थानीयतह, जनसङ्गठनहरु र बिभिन्न पार्टी संयन्त्रहरुबाट प्रतिनिधि निर्वाचन सम्पन्न गरी असोज ५/६ गते जिल्ला अधिवेशन आयोजना गर्ने सर्वसम्मत निणर्य गरेको एमाले महोत्तरीले जनाएको छ ।

जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण कार्यक्रम र त्यसलगत्तैको बैठकमा महोत्तरीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने रामदयाल मण्डल, सरोज यादव, टेकबहादुर बलम्पाकी , बुधनी देवी महतो र केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दाहालसहितका नेताहरुको उपस्थिति थियो । यसैगरी यस अवसरमा पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादव, उपाध्यक्ष रेवती पन्त, सचिव डा. कृष्ण पौडेल र प्रदेश कमिटीका सदस्यहरुको सहभागिता रहेको संयोजक कालीचन्द्र साहले जानकारी दिनुभयो ।

एमाले महोत्तरीले जिल्ला अधिवेशनसम्बन्धी दैनिक तयारी र कार्यालय सञ्चालन व्यवस्थित गर्न १९ सदस्यीय सचिवालय गठन गरेको छ ।

अधिवेशनका लागि सर्वसम्मत प्रयत्न थालिने सङ्कल्प गरिएपछि अब द्रुत गतिमा तयारी अघि बढ्ने नवगठित सचिवालय सदस्य कुमार भण्डारीको भनाइ छ । “हामी अब अघि बढ्यौं, अधिवेशनको कार्यभार र आगामी संसदीय निर्वाचन सामना गर्न सक्षम छौं” सचिवालय सदस्य भण्डारीले भन्नुभयो, “एमाले महोत्तरी अब क्रान्तिरुपी ज्वाला हो, त्यो अधिवेशन सम्पन्न गर्नसँगै चुनावी नतिजाबाट सिद्ध गर्नेछौं ।”

जिल्ला अधिवेशनबाट प्रत्यक्ष निर्वाचित अध्यक्षीय नेतृत्व प्रणली अँगालेको एमालेमा जिल्ला अधिवेशन दुई दशकपछि आयोजना हुन लागेपनि नेतृत्वभने हस्तान्तरण हुँदै आएको थियो । पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित रामदयाल मण्डल पछि केन्द्रीय सदस्य मनोनित भएपछि तत्कालीन जिल्ला कमिटीले जामुन मण्डललाई अध्यक्ष मनोनयन गरेको थियो । मण्डलको २०७४ मा निधन भएपछि तत्कालीन उपाध्यक्ष शौखीलाल यादव कार्यवाहक अध्यक्ष भएकै समयमा एमाले माओवादी एकीकरण भएको थियो । त्यसयता वैधानिक कमिटी नै नबनेको महोत्तरीमा बल्ल जिल्ला अधिवेशन आयोजक कमिटीले आज पूणर्ता पाएको हो । File Photo

२०७९ श्रावण २२, आईतवार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय