
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कानुनी राज्यमा सबैले न्याय पाउनुपर्ने बताएका छन् । शनिबार अस्पतालमा उपचाररत ‘कुमारी आमा’ भनिने निहारिका राजपुतलाई भेटेपछि उनले यस्तो बताएका हुन् ।
प्रमुख बालेनले निहारिकामाथि अत्याचार भएको उल्लेख गरेका छन् । कानुनी राज्यमा यस्तो हुन नहुनेमा उनको जोड छ ।
“आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?,” प्रमुख बालेनको फेसबुकमा लेखिएको छ, “यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।”
शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि २० वर्षीया निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।