
महोत्तरी : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसिएल मधेश प्रदेशका इन्चार्ज शंकर महतोसहित दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मधेश प्रदेश सदस्य समेत रहेका नेता महतोको अगुवाइमा उनीहरू एमाले प्रवेश गरेका हुन्।
ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएका हुन्।
साथै नेकपा एसका प्रदेश कमिटी सदस्य रोशन गौतम (बर्दिबास), वाईसिएल नेपालका केन्द्रीय सदस्य अन्जित कुश्वाहा (रौतहट), धनुषा जिल्ला संयोजक मनोज कुमार कुशवाहा, महोत्तरी संयोजक मनोज थापा, महोत्तरी जिल्ला सदस्य संजय महतो एमाले प्रवेश गरेका छन्।
त्यसैगरि माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटी सदस्य रामदेव प्रसाद यादव, रामजानकी मण्डल पनि एमाले प्रवेश गरेका छन्। वाईसिएल नेपालका प्रदेश कमिटी सदस्य निरज अधिकारी, अशोक महतो पनि माओवादी छोडेर एमाले रोजेका छन्। सोहीबीच लोसपा महोत्तरी जिल्ला सदस्य शिवनारायण यादव, राप्रपा सम्सी गाउँपालिका अध्यक्ष फइमुदिन मोमिनलगायत पनि एमालेमा प्रवेश गरेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा पार्टी परित्याग गरेपछि महोत्तरीमा नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का परेको हो।