
महोत्तरी : महोत्तरीको भंगहा नगरक्षेत्रमा विद्युत कट्ने समस्याले सर्वसाधारण आजित छन् ।
पछिल्ला १० दिनयता दिनमा २५ सौं पटक विद्युत लाइन आउने र जाने क्रम बनेको भंगहाका सर्वसाधारणले बताएका हुन् ।
पछिल्ला केही दिनयता हुरहुरे वतास चल्ने क्रमले माटो सुख्खा भएर तात्ने क्रमसँगै खडेरीको लक्षण देखाएको बुढापाकाको भनाइ छ ।
यसै बेला विद्युत लाइन पनि कट्ने क्रम बाक्लिनाले करेसाका बोटविरुवाका जरा पनि भिजाउन नपाइएको भंगाहा-४ का युवा रामईश्वर ठाकुर बताउनुहुन्छ ।
पानीबेगर बोटविरुवा सुक्न लाग्दा विद्युतले इनारबाट पानी तानेर यहाँका किसानले बालीनालीको जरा भिजाउँदै आएका छन् ।
अहिले विद्युत अनियमित हुँदा बालीनालीमा पानी हाल्न, रातअँध्यारोमा प्रकाश पाउन र अचाक्ली गर्मीमा हावा खान नपाइएको गुनासो बढेको छ ।