
जनकपुरधाम : धनुषा प्रहरीले दिल्लीतर्फ लगिँदै गरेका दुई जना बालिकाको उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ ।
जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेकोअवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर बस्ने २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका २ बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल छन् ।
ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए ।
पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।