
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन–२०७९ को तालिका निर्वाचन आयोगले सार्वजनिक गरी सकेको छ । सबै राजनीतिक दल चुनावको तयारीमा लागीसकेका देखिदा छन् । यो बेला आगामी मङ्सिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठता हासिल गर्ने पार्टी केन्द्रले उद्घोष गरेको छ ।
केन्द्रको सो उद्घोष सफल बनाउन पार्टीका आधारभूत तहसम्म चुनावी तयारीसम्बन्धी छलफल पुग्न पर्दछ । खासगरी उमेद्वारी चयन÷सिफारिसबारेको छलफलको दायरा जति फराकिलो बनाउन सकिन्छ, पार्टीका आम कार्यकर्ताको घोषित उमेद्वारबारे उत्तिकै गहिरो अपनत्व बढ्ने कुरालाई महत्वका साथ लिइन पर्दछ । केही नेताको कानेखुशी र तेरोमेरो भन्ने नाममा गोजीबाट फुत्तफुत्त निकालिने उमेद्वारले पार्टी केन्द्रको उद्घोषको भार थाम्छन्÷ थाम्दैनन् ? नेतृत्वले यस कुरामा हेक्का राखोस् भन्ने मेरो आग्रह हो ।
थोरै आफ्नो सन्दर्भको कुरा उप्काउँदै सुझावबारे बुँदागत केही कुरा राख्ने जमर्को गरेको छु ।
म २०३५÷०३६ को आन्दोलनको आधीबेहरीमा रुमलिदै राजनीतिक चासोमा सरिक हुँदै गए । तत्कालीन विष्णुबहादुर मानन्धर (महामन्त्री) ले नेतृत्व गर्नुभएको नेकपामा आबद्ध हुन पुगेछु । सो पार्टीको भारतको मुजफ्फरपुरमा २०३८ मा सम्पन्न महाधिवेशनको म निर्वाचित प्रतिनिधि थिएँ । पछि एमालेमा आबद्ध भएपछि एमालेको पाँचौ महाधिवेशनदेखिका प्रतिनिधि छनौटको लोकतान्त्रिक विधिको अन्य साथीहरुसँगै म पनि साक्षी हुँ ।
एमाले पाँचौं महाधिवेशनमा त म निर्वाचित प्रतिनिधि नै थिएँ । त्यसयताका सबै महाधिवेशनमा प्रतिनिधि छनौटको प्रकृया पार्टी पङ्तिमा चाडवाड लागेजतिकै हुन्थ्यो । इच्छित साथीले प्रतिष्पर्धा गर्थे, चुनावबाट प्रतिनिधि छानिएपछि ती प्रतिनिधिभित्रै पराजित साथीले आफ्नो प्रतिनिधित्व खोज्ने÷हेर्ने÷ बुझ्ने एमालेभित्र उच्च लोकतान्त्रिक संस्कार र संस्कृति हुर्केको थियो ।
पार्टीका जुनसुकै तहका महाधिवेशन÷ अधिवेशन लोकतान्त्रिक विधिबाट निर्दिष्ट हुँदै आएका एमालेको गौरवपूर्ण विगत रहेको हो । तर पछिल्लो पटक एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भने अन्य जिल्लामा के भयो ? त्यति जानकारी बटुल्न लागिएन । तर महोत्तरीमा भने महाधिवेशनका प्रतिनिधि जिल्ला इञ्चार्ज, सहइञ्चार्ज र जिल्ला अध्यक्षका गोजीबाट फुत्तफुत्त लगिए । यसरी नेताको खल्तीबाट प्रतिनिधि बनेका साथीको पार्टी पङ्तिप्रतिको निष्ठामा प्रश्न यहाँ गर्न खोजिएको हैन, सायद उहाँहरु योग्य नै हुनुहुन्थ्यो पनि होला । तर एमालेले वर्षौ लगाएर हुर्काएको लोकतान्त्रिक संस्कृति र संस्कारको गला निमोठियो । नेताका खल्तीबाट फुत्तफुत्त प्रतिनिधि लाने एमाले पार्टी थिएन, होइन । तर १० औं महाधिवेशन महोत्तरीका लागि चाडवाड आएजस्तो भने बन्न सकेन ।
म आफैं पनि १० औं महाधिवेशनमा प्रतिनिधि बन्न प्रतिष्पर्धाको तयारीमा थिएँ । अन्य कैयौं साथीहरु प्रतिनिधि चुनावको तालिका पर्खदै थिए । चुनावमा हारिन्थ्यो होला, तर जित्ने साथीलाई ‘ल, बधाई छ, यो यो सवाल महाधिवेशनमा उठाउनु होला’ भन्दै एक थुँगा फूल हातमा थमाएर चितौनको यात्राका लागि शुभकामना दिन सकिन्थ्यो नि ! एमालेले त्यो संस्कार त हामीलाई दिएको थियो । तर दुःखका साथ भन्नुपर्छ, औंलामा गनिने जिल्लाका तीन नेताले हामीलाई त्यो अवसर दिनुभएन । जित्ने कुरा छाडौं, हामीलाई हार्न दिनुभएन । ती नेताका खल्तीबाट छानिने प्रतिनिधिका लागि के के मापदण्ड थिए ? ती सबै अझै अनुत्तरित छन् । यहाँ यो प्रसङ्ग चित्त कुड्याउँन निकालिएको हैन । नेतृत्वले महाधिवेशन प्रतिनिधि झैं उमेद्वार खल्तीबाट फुत्तफुत्त निकाल्ने स्थिति नबनोस् भनेर आफ्नै नेतृत्वलाई सचेत गराउन खोजिएको मात्रै हो ।
फेरि म आफ्नो कुरा उप्काउँछु, मानन्धरजीसँग रहँदाका कुरा छाडौं । एमाले आबद्ध भएयता नै म आदरणीय अहिलेका पार्टी अध्यक्ष कमरेड केपी ओली नेतृत्वको युवा संघको केन्द्रीय सदस्य रहेको कार्यकर्ता हुँ । दोहोरो चिनजान छ । क. ईश्वर पोखरेल (वरिष्ष्ठ उपाध्यक्ष), माधव नेपाल (अहिले एकीकृत समाजवादी) सहितका नेता महोत्तरी भएर कतै जान लाग्दापनि छोटो समयको भेटका लागि बर्दिबास आइपुग्दा सम्झनुहुन्थ्यो । विगतमा पार्टी नेतृत्वमा छँदा अहिलेका महामहिम राष्ट्रपति विद्या भण्डारीको स्नेह र चासो पनि बाक्लै पाएको मेरो सम्झनामा छ । तर म क. केपीको भिमसेनगोला डेरा हुँदा एकपटक साथी सुवास देवाकोटासँग गएको थिएँ । बालकोट यसपालि एकपटक पुगें । राष्ट्रपतिको दोस्रो कार्यकाल सकिनै लाग्दा यसपालि एकपटक भेट गरें । क. ईश्वरको घरडेरा कहाँ छ ? मलाई अझै थाहा छैन । . माधव नेपालको घरमा उहाँ २०६४ को निर्वाचन हारेलगत्तै एकपटक क. कालीचन्द्र साह र २०७६ तिर होला अहिले मधेश आयोगका अध्यक्ष डा. विजय दत्तले बाटोघाटै समातेर पु¥याउनु भएको सम्झना छ । म संस्थागत नेतृत्वप्रति विश्वास राख्ने बानीको हुँदा उचित काम नपरी नेताहरुकहाँ पुग्ने बानी छैन । जिल्लामा पनि त्यही हो । यो मेरो कमजोरी वा के हो ? आफैंले खुट्याउन सकेको छैन । यद्यपि यो बानीले नेताहरुसँगको आवश्यक सम्बन्ध र सम्पर्कमा कमी ल्याएको हो कि भन्ने निष्कर्षमा चैं पुग्दैछु । यति भनी रहँदा के चाँही स्पष्ट पारौं भने, नेताहरुको घर जाने त्यति बानी नबसेपनि उहाँहरुप्रतिको संस्थागत सम्मान भने सधैं उच्च रहेको छ ।
यहाँ खास कुरा भन्न खोज्दा केही आफ्ना प्रसङ्गका कुराले मेरो गन्थन लम्ब्याएको बुझ्दैछु । यद्यपि मैले दिने सुझावलाई स्पष्ट पार्न यी प्रसङ्ग आएका सविनय निवेदन गर्दछु । मैले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तयारी, उमेद्वारबारे छलफल र सिफारिससम्मको पक्षलाई दृष्टिगत गरी निम्नलिखित सुझाव जिल्ला नेतृत्वसमक्ष राख्न चाहान्छु ।
—निर्वाचनको सबैभन्दा महत्वपूर्ण पाटो उमेद्वार चयनको हो । यो प्रकृयामा बढीभन्दा बढी पार्टी सदस्यका धारणा, इच्छा प्रतिविम्ब हुनसक्ने वातावरण बनाइन पर्दछ । यसका लागि प्रदेशसभा क्षेत्रभित्रका पार्टी वडा कमिटीका अध्यक्ष, सम्बद्ध क्षेत्रभित्रका नगर÷गाउँ कमिटीका पदाधिकारी, सो क्षेत्रभित्र बसोबास गर्ने जिल्ला कमिटी र प्रदेश कमिटी सदस्यको संयुक्त बैठक बोलाइनु पर्दछ । सो बैठकमा उमेद्वारी सिफारिसबारे सार्वजनिक धारणा माग गरिनु पर्दछ । यसै बैठकबाट आउने नामबारे जिल्ला कमिटी र प्रदेश कमिटीले छलफल गरी केन्द्रलाई सिफारिस गरोस् भन्ने सुझाव दिन चाहान्छु । यो छलफलको दायरा अझै फराकिलो बनाउन सके झन् राम्रो हुने म ठान्दछु ।
—त्यसैगरी प्रतिनिधिसभा क्षेत्रको उमेद्वारबारे छलफल गर्न क्षेत्रभित्रका वडा कमिटीका अध्यक्ष, नगर÷गाउँ कमिटीका पदाधिकारी, जिल्ला र प्रदेश कमिटी (सम्बन्धित क्षेत्रभित्रका मतदाता) सदस्यलाई सहभागी गराइन पर्दछ । यस प्रकृतिको बैठकमा उमेद्वार सिफारिसबारे नेतृत्वले धारणा लिन ‘फ्लोर ओपन’ गर्ने र आएका नामबारे क्रमशः प्रदेशसभा कै प्रकृया बढाएर केन्द्रमा सिफारिस गर्न पर्दछ ।
—उमेद्वार सिफारिसबारेको छलफल आधारभूत तहमा जति सघन र फराकिलो बनाउन सकिन्छ, चुनाव प्रचार उतिकै व्यवस्थित बन्नसक्छ । आम साथीले उमेद्वारबारे बढीभन्दा बढी अपनत्व ग्रहण गर्नेछन् । कार्यकर्ता जनताको तहमा उर्जासाथ प्रचारमा जाने अवस्था बन्नसक्छ । यसले पार्टीको लोकतान्त्रिक संस्कृति र संस्कारलाई आम कार्यकर्तामाझ फेरि एकपटक स्थापित गर्नेछ ।
—आशा छ, पार्टीको हित र चुनावी नतिजा अनुकूल बनाउन यी प्रकृया मदतगार हुन्छन् भन्ने विश्वास गरेर सार्वजनिक गरेको हुँ । यी सुझाव नेतृत्वलाई कति ग्राह्य हुन्छन् ? त्यो त यिनमा आउने टिप्पणी र कार्यान्वयनको पाटोले व्यवहारिक पुष्टि गर्नेछ ।
—अन्त्यमा फेरि, एउटा कुरामा जोड दिन चाहान्छु, १० औं महाधिवेशनमा तीन नेताले खल्तीबाट फुत्तफुत्त प्रतिनिधि छाने झैं अबका उमेद्वार खल्तीबाट छान्ने गल्ती नगरियोस् । फेरि भन्छु, उमेदवारबारे जति फराकिलो छलफल हुन्छ, आम कार्यकर्ताले घोषित उमेद्वारबारे त्यति नै बढी अपनत्व ग्रहण गर्नेछन् । यस कार्यमा पार्टी नेतृत्व अहिलेदेखि नै योजनाबद्ध रुपले लागोस् भन्ने मेरो विनम्र निवेदन छ ।