File photo

महोत्तरी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन-२०७९ का लागि महोत्तरीमा उम्मेदवार सिफारिस प्रकृयामा जसपा नेपाल अघि देखिएको छ । जसपा नेपालले दलको संसदीय क्षेत्रीय समितिबाट जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रका उमेद्वारबारे भदौ दोस्रो साताभित्रै प्रारम्भिक तहको निणर्य गरिएको जनाएको हो ।

क्षेत्रीय समितिबाट प्रथम चरणमा सिफारिस भई आएका नाम जिल्ला कार्य समितिबाट प्रतिनिधिसभाको हकमा एक/एक वटा निर्विकल्प नाम पठाउने निणर्य गरी सकिएको सो दलका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जानकारी दिनुभयो । जसमा क्रमशः क्षेत्र नम्बर-१ बाट लक्ष्मी महतो, दुईबाट शिवचन्द्र साह, तीनबाट हरिनारायण यादव र चारबाट डा. सुरेन्द्रकुमार यादव रहनुभएको अध्यक्ष यादवले पुष्टि गर्नुभयो । प्रदेशसभाका हकमा प्रारम्भिक सिफारिसमा निकै नाम आएका हुँदा तीबारे वीचार गर्न बाँकी रहेको यादवको भनाइ छ ।

यसैगरी नेपाली काँग्रेसले पनि आठवटै प्रदेशसभा क्षेत्रीय समिति र चारवटा संसदीय क्षेत्रीय समितिका बैठकबाट उमेद्वारका नाम सिफारिस गर्ने क्रम जारी रहेको जनाएको छ । माथिल्लोेेेेेेेेेे समितिलाई सिफारिस गरिनपर्ने सङ्ख्याभन्दा निकै बढी आकांक्षी देखिएका हुँदा उपल्लो समितिलाई नाम सिफारिस गर्न काग्रेस जिल्ला नेतृत्वलाई सकस परेको छ ।

यता नेकपा (एमाले), नेकपा माओवादीकेन्द्र र लोसपामा संस्थागत रुपमा प्रारम्भिक चरणका छलफलै चल्नसकेका छैनन् । नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका उमेद्वार हुन इच्छुकले सम्बन्धित क्षेत्रका जिम्मेवारीमा रहनुभएका जिल्ला कमिटी सचिवालय सदस्यलाई नाम लेखाउनु भएको र ती नामबारे भोलि आइतबारको जिल्ला कमिटी बैठकले निणर्य गर्ने बताउनुभयो । यसैगरी लोसपाका जिल्ला अध्यक्ष रामबाबु यादव र नेकपा माओवादीकेन्द्रका जिल्ला इञ्चार्ज राजु खड्काले उमेद्वार सिफारिसबारे दलभित्र आन्तरिक छलफल जारी रहेको बताउनुभएको छ ।

जिल्लामा यीबाहेक जनमत पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा नेपाल पनि उमेद्वार टुङ्ग्याउने छलफलमा छन् ।

दलहरुका चुनाव तयारीबारेका पछिल्ला काममा उमेद्वार सिफारिस स्थानीय (जिल्ला) नेतृत्वलाई टाउको दुखाइ बनेको छ । प्रतिनिधिसभाभन्दा प्रदेशसभाका आकांक्षी धेरै बढी देखिएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुमार भण्डारीले महोत्तरी-१ ‘क’ बाटमात्रै १० जनाभन्दा बढी आकांक्षीले नाम टिपाएका जानकारी दिनुभयो । अन्य दलले पनि प्रदेशसभाका आकांक्षी थामी नसक्नु देखिएका जनाएका छन् ।

उमेद्वारबारे सिफारिस गर्न नेकपा एमाले, लोसपा, जनमत पार्टी र तमलोपाभन्दा सत्तागठन्धनका दललाई सकस परेको छ । गठबन्धनबाट कुन क्षेत्र कसले पाउने निधो नभइसक्दा सबै क्षेत्रमा आकांक्षीको भीड जमेको छ । यी सकसका बीच जिल्लाका मुख्यदलले अब यही भदौ २२ गतेभित्र भने सम्भावित उमेद्वारका नाउँ सिफारिस गरी पार्टीको उपल्लो तहमा पठाई सकिने जनाएका छन् ।

२०७९ भाद्र १८, शनिबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय