
काठमाडौं : मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित छ। जसले गर्दा प्रदेश १, मधेश, बागमाती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ। साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।