
- हरिशंकर शर्मा
वीरगन्ज : मिटरब्याजीको चँगुलमा फसेका पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ९ का ७२ वर्षीय दरोग राउत कुर्मी घरबारविहीन बनेका छन् । सम्पत्तिको नाममा रहेको साढे ९ कठ्ठा नम्बरी तथा साढे ६ कठ्ठा ऐलानी जग्गासहित १६ कठ्ठा खेत मिटरब्याजीले कब्जा गरेपछि कुर्मी अहिले घरवारविहीन बनेका हुन् ।
छोरालाई वैदेशिक रोजगारमा पठाउन विगत ६ वर्ष अगाडि २०७३ वैशाख १३ गते सोही ठाउँ निवासी संसोदिन देवान फकिरसँग ४ रुपैया कर्जा लिएका थिए । प्रति महिना १ सय रुपैयाको २ रुपैया ७५ पैसा व्याज तिर्ने गरि आफ्नो नाममा रहेको भौराटार गाविस वडा नं. ५ स्थित मुख्य सडकको किता नं। १४१२ को ७ कठ्ठा साढे १२ धुर जग्गाको दृष्टिबन्धकको नाममा राजिनामा पत्र सहित नामसारी गरिदिए ।
कर्जा दिने संसोदिन देवानका आफन्त पर्ने लेखनदास अलि हुसेनले दृष्टिबन्धकको नाममा जिल्ला मालपोत कार्यालयबाट मिटरब्याजी फकिरकी श्रीमती ६४ वर्षीय मतिना खातुनको नाममा जालसाजी गरि राजिनामा पत्र सहित रजिष्ट्रेसन नै पास गराईदिए । साधारण पढलेख गर्न समेत नजानेका पटेल कर्जा पाइएको झोकम कहाँ हस्ताक्षर गर्दैछु भन्ने सुइको समेत पाएनन् । उनको ७ कठ्ठा साढे १२ धुर जग्गा मिटरव्याजी फकिरकी श्रीमतीको नाममा पास भएको उनले थाहै पाएनन् ।
त्यसपश्चात छोरा वैदेशिक रोजगारबाट कमाएर पठाएको पैसाबाट विस्तारै किस्ता किस्ता गरि ४ लाख रुपैया भुक्तान गरे तर उनले मिटरव्याजीलाई बुझाएको पैसाको कुनै कागजात गरिएन । त्यस पश्चात तीन वर्षपछि २०७६ पुस ९ गते त्यही मिटरव्याजी फकिरसँग ३ लाख थप कर्जा लिए । त्यसबापत पटेलले आफ्नो श्रीमती मैनादेवीको नाममा रहेको भौराटार गाविस वडा नं. ५ स्थित किता नं. १४११ को २ कठ्ठा जग्गा दृष्टिबन्धकको नाममा पुनः राजिनामा पत्र सहित फकिरका छोरी अवदा खातुनको नाममा नामसारी गरिदिए । यसरी दुई कित्ताको साढे ९ कठ्ठा जग्गा फकिरले जालसाजी गरि हात पारे । त्यसको साथसाथै त्यही दुई कित्ता जग्गासँगै जोडिएका साढे ६ कठ्ठा ऐलानी जग्गा जुन वर्षौदेखि पटेल भोगचलन गर्दै आएको थिए त्यो जग्गा पनि फकिरले कब्जा गरे ।
पैसा भएपछि व्याज सहित पैसा फिर्ता गरिदिए पश्चात पुनः आफ्नो नाममा फिर्ता गरिदिने शर्तमा पटेलले कागजमा हस्ताक्षर गरेको तर हाल आएर मिटरव्याजी फकिरले उक्त जग्गा फिर्ता नगरेपछि पटेल अहिले घरबारविहीन हुने अवस्थामा पुगेका छन् । सम्पत्तिको नाममा त्यही १६ कठ्ठा जग्गा रहेकोमा मिटरव्याजी फकिरले झुक्याएर दृष्टिबन्धक कागजको नाममा नामसारी नै गराएको र हाल आएर आफू व्याजमा पैसा नदिई नगद साढे ७ लाख रुपैया तिरी किनेको भन्दै जग्गा फिर्ता नदिने भनेपछि पटेल मिटरब्याजीको सिकार बनेका छन् ।
कुर्मीले मिटरव्याजी फकिरलाई पटक पटक गरि हालसम्म ७ लाख १४ हजार रुपैया बुझाई सकेका छन् तर फकिरले उनको जग्गा फिर्ता गरेका छैनन् । हाल आएर साँवा, व्याज सहित फकिरले ४० लाख रुपैया दिएमात्रै जग्गा फर्काउने अडान राखेको स्थानीय अगुवा रामकिशुन जयसवालको भनाई छ । उनका अनुसार फकिरले ४ लाख रुपैया दिएर ७ कठ्ठा १२ धुर र पछि ३ लाख रुपैया दिएर २ कठ्ठा गरि साढे ९ कठ्ठा जग्गा झुक्याएर नामसारी गराएको र हाल आएर पैसा दिएर पनि जग्गा फिर्ता माग्दा आफूले कुनै किसिमको कर्जा नदिई नगद पैसा तिरेर जग्गा खरिद गरेको कारण जग्गा फिर्ता नदिने भन्दै अडान राख्दै आएको बताए ।
यसैगरी अर्का स्थानीय शिवपुजन पटेलले पनि मिटरव्याजी फकिरले ७ लाख रुपैयामा कुर्मीको १६ कठ्ठा जग्गा कब्जा गरेको बताए । उनले पहिलो पटक ४ लाख कर्जा लिएर फिर्ता लिइसकेपछि तीन वर्षपछि पुनः दोश्रो पटक ३ लाख रुपैया कर्जा दिएर दुई पटक गरि नम्बरी जग्गा साढे ९ कठ्ठा र उनले हकभोग गर्दै आएको साढे ६ कठ्ठा ऐलानी जग्गा कब्जा गरेको बताए । उनले यसबारे यहाँका समाजमा पटक पटक पञ्चायती बसेर फर्छयौट गर्न खोज्दा मिटरव्याजी फकिर कहिले उपस्थित नहुने, त कहिले जग्गा फिर्ता नदिने भन्ने जस्ता क्रियाकलापहरु गर्दै आएको उनको भनाई छ ।
यसबारे मिटरव्याजी संसोदिन देवान फकिरले आफू कर्जा स्वरुप पैसा नदिई नगद पैसा तिरेर साढे ९ कठ्ठा जग्गा किनेको दाबी गरे । उनले विगत ९ वर्ष अगाडि जग्गा किनेर हकभोग गर्दै आएकोमा हाल आएर पुरानो जग्गाधनी दरोगा राउत कुर्मीले आफूलाई अनावश्यक दुःख दिने काम गरेको भन्दै ढाट्न खोजे । जबकी एउटा जग्गा २०७३ वैशाख १३ गते रजिष्टे«शन पास भएको छ भने अर्को जग्गा २०७६ पुस ९ गते रजिष्ट्रेसन पास भएको छ ।
मिटरव्याजीको चँगुलमा फसेको कुर्मी उदाहारणका पात्र मात्रै हुन् । यस्ता सयौं गरिब परिवार यस्ता मिटरव्याजीको चँगुलमा फसेका छन् । जसले गर्दा आफ्नो जायजेथा गुमाउन बाध्य भएका छन् । हाल आएर गृहमन्त्रालयले मिटरव्याजी विरुद्ध कारवाही प्रक्रियालाई अगाडि बढाउन कडा रुपमा प्रस्तुत भएपछि अहिले धमाधम मिटरव्याजीहरुको पोल खुल्दै आएको छ ।
यसैगरी मिटरब्याजीको चँगुलमा फसेका रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. २ सोनर्निया निवासी दयाशंकर यादव कर्जा स्वरुप लिएको १४ लाख रुपैयाको व्याज सहित ४९ लाख बुझाएपनि कारागार जीवन विताई रहेका छन् । यादवकी श्रीमती सन्ध्या देवी न्यायको माग गर्दै मिटर व्याजीको चँगुलमा फसेका आफ्नो श्रीमान्लाई न्याय दिलाउन गुहार गरिन् । घर व्यवहार चलाउन यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर निवासी अनिल यादव प्रियदर्शीसंग १४ लाख रुपैया ऋण लिएका थिए ।
बाराकै प्रसौनी गाँउपालिका – ३ नौतन गण्डक स्थित रामजानकी आधरभुत विद्यालयमा शिक्षकमा कार्यरत अनिललाई उक्त ऋणको ब्याज बापत दयाशंकरका परिवारले ४९ लाख रुपैया तिरिसकेका छन् तर ऋण लिदाका बखत पटक पटक गरि दिएको चेक बाउन्सको मुद्दामा दयाशंकर गत जेठ देखि गौर कारागारमा कैदी जिवन बिताइरहेको श्रीमती सन्ध्या देवीको भनाई छ ।
उनका अनुसार अनिललाई ब्याज बापत आफुहरुले १० लाख, ८ लाख र २६ लाख गरि तीन पटकमा ४४ लाख रुपैया बुझाइ सकेको भएपनि ऋण लिदाका बखत धितो स्वरुप दिएको चेक बाउन्सको मुद्दा हालेर अनिलले श्रीमान्लाई जेलमा हालेको बताउँछिन् । मिटरव्याजी अनिलविरुद्ध मात्रै जिल्ला प्रशासन कार्यालय बारामा ३ जनाले उजुरी हालेका छन् ।
अर्का उजुरीकर्ता किशोरी प्रसाद यादवले अनिलसँग मिटर ब्याजमा ७५ लाख रुपैया ऋण लिएका थिए । तर उक्त ऋणको ब्याज मात्रै ५ करोड रुपैया तिरि सक्दा पनि अनिलले ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको भन्दै आएका छन् । १ दिनको १ लाख रुपैया ब्याज तिर्ने शर्तमा ७५ लाख लिएको थिए, अहिले सम्म ५ करोड रुपैया बुझाइसकेको छु तै पनि उसले अझै साँवा र ब्याज तिर्नु पर्छ भन्दै आएको छ । अनिलले आफ्नो साला वडाअध्यक्ष रामदिनेश र साथी सुनिलसंग मिलेर वर्षौ देखि मिटर ब्याजीको धन्दा चलाउदै आएको बताइएको छ ।
खास गरेर प्रदेश २ मा बढि मिटरव्याजी पीडितहरुको प्रशासनमा उजुरी परेको छ । पर्सा जिल्लामा मात्रै यही दुई हप्ताको अवधिमा ८२ वटा उजुरी परेको छ । सरकारले देशभरका मिटरव्याजी पीडितहरुलाई उजुरी दिन सूचना गरेपछि उजुरीहरु आउन थालेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाई छ ।
उनका अनुसार पर्सा जिल्लाको १४ वटा पालिकाहरुमध्ये वीरगंज महानगरपालिकाबाट सबैभन्दा बढि उजुरी परेको बताए । वीरगंज महानगरपालिकाबाट मात्रै ३७ वटा मिटरव्याजी विरुद्ध उजुरी परेको छ भने बाँकी अन्य पालिकाहरुबाट परेको उनको भनाई छ । उजुरीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन प्रमाण सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको बताए । साभार : न्यूज २४