
नेपालवाणी / जनकपुरधाम ।
धनुषामा दिनदहाडै रकम लुट्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधवार लक्ष्मीनियाँ ४ सपही स्थित रहेको मेगा बैँकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेकोमा बैँकबाट निस्केपछि दुबैजना लुटेर फरार भएका थिए ।
अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि अनुसन्धान गर्दै जाँदा दुबै जना पक्राउ परेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरीले लुटिएको रकम मध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा बरामद गरेको र सरोजबाट १ हजार ५ सय बरामद गरेको हो ।
यस्तै लुटपाटमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको पल्सर २२ण् सिसिको मोटरसाइकल बरामद गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक रजौरेले बताए । यस अघिपनि जनकपुरधामबाट रुपैयाँ लुट्ने लक्ष्मीनियाँकै दुई युवक पक्राउ परेका थिए ।