सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको ।

काखीको रौं हटाउने के कस्ता विधि छन् ? प्रचलित विधिमध्ये कुन बढी प्रभावकारी हुन्छ ? काखीको छाला कालो भएमा के गर्ने ?

काखीको रौं सफा गर्ने सबैभन्दा राम्रो विधि

काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो विधि भनेको वाक्सिङ नै हो । वाक्सिङ गरेपछि लामो अवधिसम्म रौं पलाउँदैन । छाला पनि मुलायम नै रहन्छ । वाक्सिङले रौंलाई लामो समयसम्म पलाउन नदिने मात्र होइन, नयाँ आउने रौं पनि पातलो बनाउँछ । यसको कारण के हो भने वाक्सिङ गर्दा रौंको जरा नै उखेलिन्छ ।

कतिपयको छाला एकदमै संवेदनशील हुन्छ । त्यस्ता छाला भएकाहरुको लागि सबैभन्दा राम्रो विकल्प भनेकै वाक्सिङ हो । वाक्सिङले एक्सफोलिएटर जस्तै काम गर्छ । घामले डढेको छालालाई हटाउने, मृत छाला कोषिकालाई हटाएर छालालाई चिल्लो अनि मुलायम बनाउने काम गर्छ ।

वाक्सिङको लागि केमिकल नभएको भ्याक्स प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा इटालियन रिकावक्स स्किनको लागि निकै सुरक्षित मानिन्छ । यो वाक्स प्रयोग गर्दा अन्यभन्दा दुखाइ कम हुन्छ । यसले सानोदेखि ठूलो रौंलाई एकैपटक निकाल्ने गर्छ ।

घरमै वाक्स

घरमै पनि वाक्स गर्न सकिन्छ । तर त्यसको तरिका भने जान्नुपर्छ । कुन ठाउँमा कसरी लगाउने भन्ने कुरा जान्नुपर्छ । गलत तरिकाले प्रयोग गर्दा छालालाई असर गर्न सक्छ ।

हामी रिटा भ्याक्स प्रयोग गर्दा प्रि–भ्याक्स जेल लगाउने गर्छौं । त्यसले नन स्टिकी गराउँछ । हल्का भ्याक्सलाई तातो बनाएर छालाको मध्यम तापक्रममा राखेर लगाउँछौं । केही समय राखेपछि चिपको मद्दतले निकाल्छौं । राम्रोसँग निकालेपछि भ्याक्समै तेल आएको हुन्छ, त्यो लगाउनुपर्ने हुन्छ । अन्य भ्याक्स पनि यसरी नै लगाउने हो ।

वाक्स गर्दा अरुको सहयोग लिन सकिन्छ । तर ब्राजिलियन वाक्स आफैंले लगाउन सकिन्छ । यसका लागि एकपटक वाक्सको क्रिम लगाउने । केही मिनेटमा त्यो सुख्खा हुन्छ । अनि हातले रौं निकाल्नुपर्छ ।

अन्य विधि

धेरैजसोले त रेजर विधिबाट काखीको रौं निकाल्ने गर्छन् । त्यससँगै हेयर रिमुभर क्रिम लगाउन सकिन्छ । थ्रेडिङबाट अन्डर आर्म्स सफा गर्न सकिन्छ । ब्लेडले पनि रौं खौरिन सकिन्छ ।

ब्लेड र रेजरले सफा गर्दा कालो दाग बस्ने वा रौं बाक्लो पलाउने हुनसक्छ । प्रायः मान्छेले हतारमा ब्लेडले सफा गर्ने गर्छन् । यसले छिटो भए पनि पछि समस्या देखिन सक्छ । खासगरी रौं खौरिंदा छालाको संवेदनशील पहिलो तहलाई पनि यसले सोहोर्छ । यही कारण छाला कालो हुन्छ । रौं खौरिंदा जरामाथि मात्र काट्ने भएकाले फेरि उक्त रौंको टुसा पलाउँदा झन् बाक्लो भएर आउँछ । ब्लेड र रेजर प्रयोग गर्दा छालामा घाउ हुने डर पनि हुन्छ ।

हेयर रिमुभर कति राम्रो ?

हेयर रिमुभर क्रिम त्यति प्रभावकारी मानिंदैन । अन्डर आर्म्स मात्र होइन, प्राइभेट पार्टमा पनि यसको प्रयोग गर्नु हुँदैन । रिमुभर क्रिमले जरैदेखि रौं निकाल्दैन । देखिने सतहमा मात्र रौं निकाल्छ ।

प्रायजसो रौं पलाउने बेलामा छालाभित्र पसेर घाउ वा पिप आउने समस्या पनि हुनसक्छ । संवेदनशील भागमा लगाउँदा पोल्ने र छालामा पनि समस्या हुन्छ । यसको साइड इफेक्ट भनेको रौं छिटो पलाउनु हो । साथै रौं बाक्लो हुने पनि हो ।

कुन उमेरदेखि ?

यही उमेरदेखि अन्डर आर्म्स सफा गर्ने भन्ने हुँदैन । साना किशोरीहरु खासै सफा गर्ने चलन हुँदैन । १८ वर्षभन्दा माथिको उमेरका भने अन्डर आर्म्स सफा गर्न आउँछन् । हुन त १४ वर्षपछि नै आवश्यक परेमा सफा गर्दा हुन्छ । किनभने संवेदनशील छालाका लागि छुट्टै वाक्स पाइन्छ । उनीहरुले एलोभेरा फ्लेवरको वाक्स गर्नु उचित हुन्छ । सुख्खा छालाको लागि चकलेट वाक्स गर्नुपर्छ । यसले छालालाई चम्किलो बनाइराख्छ ।

महिनामा एकपटक सफा गर्ने

काखीको रौं महिना दिनको अवधिमा गर्दा हुन्छ । तर कसैकसैको भने छिटो रौं पलाउने भएकाले उनीहरुले आफ्नो अवस्था हेरेर सफा गर्न सक्छन् ।

(हेयर एण्ड शान्ति युनिसेक्स सलुनकी सौन्दर्यकर्मी शाक्यसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

२०७९ कार्तिक १, मंगलवार २०:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय