नेपालवाणी,
जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषाको साधारणसभाबाट आगामी सात बुँदे कार्यनीति तय गर्दै साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । पत्रकार महासंघका जिल्ला अध्यक्ष मनिका झाको अध्यक्षता तथा केन्द्रिय महासचिव रोशन पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साधारणबाट ७ बुँदे आगामी कार्यनीति तय गर्दै भव्यतापूर्वक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाबाट श्रमजिवि तथा कलमजीवि पत्रकारहरुको हकमा श्रम कानून बमोजिम लागू गराउन सञ्चारमाध्यमको अनुगमन गर्ने, पत्रकारहरुको दक्षता अभिबृद्धिका लागि नयाँ तथा पूराना पत्रकारहरुको हकमा तालिमको व्यवस्थापन गर्ने, महासंघको सदस्यता वितरण तथा विधानको मार्ग निर्देशअनुसार कामकारवाही अघि बढाउने निर्णय गरिएको छ । यसैगरी विज्ञापन प्रणालीलाई एकद्वारा प्रणालीबाट वितरणका लागि समानूपातिक विज्ञापन प्रणाली लागू गराउन पहल गर्ने र पत्रकारितामा महिलाको सक्रिय सहभागिताको लागि विशेष योजना ल्याउने रणनीति तय गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव रोशन पुरीको प्रमुख उपस्थितिमा आयोजित साधारणसभामा पत्रकार महासंघ धनुषा शाखासंग आवद्ध अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । महासंघको बन्द सत्रमा सचिव बटुकनाथ झाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामकलम महतो (राजकमल सिंह) ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको बन्दसत्रमा प्रस्तुत सचिव झाको प्रतिवेदन संशोधन सहित र कोषाध्यक्ष महतोद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।

शाखा सचिव झाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा ज्येष्ठ पत्रकारहरुलाई पेन्सन व्यवस्थाका लागि पहल गर्नेे, महासंघको बाँकी सौन्दर्यीकरणको काममा थप तिव्रता दिने लगायतको विषयमा व्यापक छलफल भएको छ । बन्द सत्रको अध्यक्ष मण्डलका सदस्यही क्रमशः अनिल मिश्र, सुजित झा, श्यामसुन्दर शशि, कमल साह, शैलेन्द्र झाको प्रस्तावमा सहभागि सदस्यहरुले सर्वसम्मत रुपमा सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

प्रस्तुत प्रतिवेदनको क्रममा पत्रकार विकास साह, उपेन्द्र भगत नावंशी, अजय मिश्र अनुरागी, राजन सिंह, पुरन गुप्ता साह, बीरेन्द्र रमण, सुभाष कर्ण, लगायतले राखेको जिज्ञासा क्रमशः अध्यष मनिका झा र कोषाध्यक्ष रामकमल महतोले जवाफ दिएका थिए । उठेको सवालमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आगामी दिनमा मधेशको राजधानी जनकपुर भएकोले यहाँबाट विट पत्रकारिताको लागि पत्रकारहरुको क्षमता र दक्षता वृद्धि गराउन पहल गरिने बताए ।

पत्रकारिताको मर्यादा कायम राखौं – वक्ताहरु

निर्वाचनको समयमा पत्रकारहरूले अझै गम्भीरताका साथ कलम चलाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको १२ औँ साधारणसभाको उद्दघाटन समारोहमा वक्ताहरुले पत्रकार जगत् कसैको प्रभावमा पर्न नहुने आफ्नो मर्यादा र पेशाप्रति सधै वफादार रहनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारितालाई दोश्रो पेशाको रुपमा राख्नेहरुलाई पत्रकारिता छाड्न आग्रह गर्दै विभिन्न चुनावमा भाग लिएका देशभरिका धेरै पत्रकारहरुको सदस्यता खारेज गरेको बताए । उनले भने, ‘पत्रकारहरुको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लागिपरेको बताउँदै निर्वाचन आचारसंहिताको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा चाटुकारिता बढ्नु चिन्ताको विषय भएको बताउँदै पत्रकारहरु निष्पक्ष भएर कलम चलाउनुपर्ने धारणमा राखे । महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले पत्रकारिता जगतमा भएका समस्याहरुको समाधानका लागि राज्य पक्ष गम्भीर हुन आवश्यक भएको बताए । नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदीले समाजको रुपान्तरण तथा गलत प्रवृत्तिको विरुद्धमा पत्रकारिता जगत सशक्त रुपमा अगाडी बढ्नु आवश्यक रहेको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पत्रकारहरु पार्टी पत्रकारिताबाट माथि नउठेसम्म निष्पक्ष पत्रकारिताको कल्पना गर्न कठिन हुने बताए । उनले पत्रकारिता पेशालाई वास्तविक पेशा र आफ्नो पदीय दायित्व तथा देशको चौथो अंगको रुपमा रहेको पेशालाई थप मर्यादित तथा सम्मानित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार तथा मधेश प्रज्ञा प्रतिष्ठानका उपकूलपति रामभरोष कापडि भ्रमर, केन्द्रिय सदस्य रिंकु मिश्र लगायतका सहभागिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

महासंघका उपाध्यक्ष अवधेश कामतले स्वागत मन्तव्य राखेको साधारणसभामा अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति स्वर्गीय माधव आचार्यको श्रीमती तुलसा आचार्य, प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, अशोक रौनियार, पूर्वसभापति उमेश साह तथा निवर्तमान अध्यक्ष अनिल मिश्र, वरिष्ठ पत्रकार चन्देश्वर गिरीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

२०७९ कार्तिक ४, शुक्रबार १९:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय