काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

आज (शनिबार) सार्वजनकि गरिएको घोषणापत्रमार्फत जसपाले आफ्नो सरकार बने संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार बन्ने व्यवस्था गर्ने बताएको छ।

‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने,’ जसपाको घोषणापत्रमा लेखिएको छ, ‘प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।’

जसपाले घोषणापत्रमा कार्यकारी राष्ट्रपतिको सक्रियतामा गठन हुने सरकारमा समावेशितालाई ध्यान दिने पनि बताएको छ। ‘कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनेट गरी मन्त्रिपरिषद् बनाउने,’ घोषणापत्रमा भनिएको छ, ‘शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने।

तर संघीय र प्रदेश संसद भने पूर्ण समानुपातिक हुर्नुपर्ने जसपाले बताएको छ। एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एकै कार्यकारी पदमा रहन नपाउने कानुनी व्यवस्था गर्ने पनि जसपाको घोषणापत्रमा उल्लेख छ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र सहकार्यात्मक सिद्धान्तमा आधारित सम्बन्ध हुने पनि जसपाले बताएको छ।

जसपाले निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने बताएकाे छ। पुष्पलाल लोकमार्ग र निर्माण कार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने जसपाकाे भनाइ छ।

भित्री मधेश करिडोरको धरान हेटौंडा लोकमार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने, ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली क्षेत्रको मूलबस्तीलाई जोड्ने गरी हिमाली लोकमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयलाइ पनि जसपाले घोषणापत्रमा समेटेको छ।

२०७९ कार्तिक १९, शनिबार १७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय