
काठमाडौं : मंसिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा यतिबेला मधेस प्रदेशअन्तर्गत सप्तरी–२ को चुनावी चर्चा गर्माएको छ। यसपल्ट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव चुनाव लडेका कारण सो क्षेत्र विशेष चासोको विषय बनेको छ।
यस निर्वाचन क्षेत्रमा एमालेको समर्थनमा चुनावमा होमिएका अध्यक्ष यादव र सत्ता गठबन्धनको समर्थन पाएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनको दिन नजिकँदै गर्दा यादव र ठाकुरको प्रतिस्पर्धा पनि पेचिलो बन्दै छ। पहिले एउटै दलमा रहेका यादव र ठाकुर अहिले प्रतिस्पर्धी भएका हुन्।
सप्तरी–२ बाटै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि निर्वाचनमा होमिएका छन्। जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनलाई छाडेर अन्तिम समयमा एमालेसँग गठबन्धन गरेका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम भने यादवका लागि सुखद छैन। स्थानीय चुनावको मत परिणाम जोड्दा सत्ता गठबन्धन झन्डै दोब्बर मतले अगाडि छ। सत्ता गठबन्धनको ३१ हजार १ सय १९ मत छ। एमाले–जसपा गठबन्धनको मत भने १६ हजार ३ सय ५४ मात्रै छ। सप्तरी–२ मा महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्।
स्थानीय चुनावलाई आधार मान्दा सप्तरी–२ का गाउँपालिका र नगरपालिकामध्ये कांग्रेसको १० हजार ८ सय ९ मत छ। वडाको मतअनुसार जसपाले १४ हजार ४ सय तीन र एमालेले ५ हजार ९ सय ५१ मत पाएको छ। लोसपाले १० हजार २ सय ५४, माओवादीले ९ हजार ५ सय ३१, नेकपा एकीकृत समाजवादीले २ हजार ४ सय ८ र जनमत पार्टीले ४ हजार ५ सय ४४ मत पाएका छन्। जसअनुसार सत्ता गठबन्धनको मत ३२ हजार ९ै सय ८८ छ भने एमाले–जसपा गठबन्धनसँग २० हजार ३५४ मत छ । स्थानीय अंक गणितको आकलनबाट यादवका लागि परिस्थिति विगतमा जस्तो सहज अवस्था देखिँदैन।
यादव नेतृत्वको जसपा एमालेसँग मिलेपछि यता लोसपा सत्ता गठबन्धनसँग मिलेर चुनावमा प्रतिस्पर्धा गर्दैछ। २०७४ को निर्वाचनमा यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच तालमेल भएको थियो।
यादवविरुद्ध त्यतिबेला ठाकुर बागी उम्मेदवार थिए। स्थानीय निर्वाचनको मत परिणामको अवस्था कमजोर देखिए पनि जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता प्रगतिशील पार्टी, जनता समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी पनि चुनावी प्रतिस्पर्धामा रहेकाले तिनका उम्मेदवारले कसको भोट कति काट्छन् भन्ने अहिल्यै अनुमान गर्न सकिँदैन। यसबाहेक मधेस विद्रोहको ‘लिगेसी’जस्ता ‘फ्याक्टर’ले पनि चुनावमा प्रभाव पार्न सक्छ।
विगतमा एमालेको सरकार र केपी ओलीलाई ‘मधेस विरोधी,’ ‘लोकतन्त्रविरोधी,’ ‘भ्रष्टाचारी’, ‘नक्कली राष्ट्रवादी’ जस्ता उपमा जोडेर आरोप लगाउँदै आएका यादव अहिले ओली नेतृत्वकै गठबन्धनमा जोडिन पुगेकाले एमाले र मधेसी समुदायकै मतमा आशंका पनि एकातिर छ। गठबन्धनमा सामेल दल र मधेसका अन्य दलले यादवको हिजोको भूमिकालाई लिएर पनि यतिबेला मधेसमा प्रचार छेडिरहेका छन्। यद्यपि यादव आफैंमा ‘हेभिवेट’ उम्मेदवार रहेका कारण पनि छुट्टै प्रभाव देखिन पनि सक्छ।
यो क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी, जसपा, नेपाल सद्भावना पार्टी, राप्रपाको पनि केही मत छन्, जसले आगामी निर्वाचनको अंकगणितमा प्रभाव पार्ने देखिन्छ। यो क्षेत्रमा राउत नेतृत्वको जनमत पार्टीको राम्रो प्रभाव देखिन्छ। राउत स्वयं उम्मेदवार रहेकाले दुवैतर्फ राम्रै भोट काट्ने सम्भावना छ।