
काठमाडौं: डा. तोसिमा कार्कीले दुई ठूला पार्टीका उम्मेदवार हराउँदै चुनाव जितिन्। प्रतिस्पर्धीलाई निकै ठूलो मतान्तरले उनले हराइन्।
चुनावअघिसम्म सामान्य परिचित अनुहार उनी माहोल तातिँदै गर्दा चर्चामा आएकी थिइन्। विशेषतः निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरिदिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो। अहिले भने उनलाई नचिन्ने सायदै होलान्।
देशैभर अनपेक्षित नजिता निकालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी उनी परिवारबाट राजनीतिमा एक्कासि आइन् र एक्कासि नै चुनाव जितिन्।
तोसिमा सानैबाट जुन जुन क्षेत्रमा लागिन सबैमा त्यसमा अब्बल हुँदै गइन्। कक्षा १ देखि नै उनी कहिले दोस्रो भइनन् १२ कक्षासम्म प्रथम नै भइन्। सानैदेखि उनी तीक्ष्ण स्वभावकी थिइन्।
आज ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजार १७३ मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन्।
ललितपुर क्षेत्र ३ मा ६१ हजार ६७८ मत खसेकोमा तोसिमाले ३१ हजार १३६ मत पाइन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी छिन्।
को हुन् तोसिमा ?
२०४६ जेठ ७ गते बुद्धजयन्तीको दिन घरको जेठी छोरीका रुपमा जन्मिइन्। ललितपुरको नख्खुस्थित शहीद धर्मभक्त स्कुलमा कक्षा १० सम्म म त्यहीँ पढिन्। १ कक्षादेखि १० सम्म प्रथम नै भइन्।
त्यही सपना बोकेर प्लस टु पढ्न कीर्तिपुरस्थित मोडर्न इन्डियन स्कुल पुगिन् विज्ञान विषयमा प्रथम श्रेणीमा उतीर्ण भइन्। किष्ट मेडिकल कलेजबाट एमबीबीएस सकिन्। पढाइ सकेपछि शहरभन्दा पनि दुर्गममा गएर स्वास्थ्य सेवा दिने इच्छा बनाएकी उनी परिवारको असहमतिका कारण भन जान सकिनन् र झापा झापा गएर मेडिकल अफिसरका रुपमा काम गरिन्।
काठमाडौं युनिर्भसिटी स्कुल अफ मेडिकल साइन्सबाट सर्जरीमा स्नातकोत्तरको पढाइ पूरा गरेपछि पाटन अस्पतालमा जेनरल सर्जनका रुपमा काम गर्न थालिन्।
त्यसपछि पाटन अस्पतालमा जनरल सर्जनको रुपमा उनको यात्रा सुरु भएको थियो।
एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेकी उनले जिम्मेवारीबाट राजीनामा दिएर चुनावमा होमिएकी थिइन्।
यसअघि उनले मुलधारमा रहेर भने कहिल्यै राजनीति गरिनन् स्वास्थ्य क्षेत्रको राजनीति भने डाक्टर पढ्ने बेलादेखि नै सुरू गरेकी थिइन्। मेडिकल विद्यार्थीको भर्ना शुल्कसम्बन्धी मुद्दा उठाउने बेला उनी अग्रपंक्तिमा थिइन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निजी मेडिकल कलेजहरुमा मनोमानी ढंगले पैसा असुल गरेपछि उनी त्यसको विरोधमा उत्रिएकी थिइन्। मेरिट भर्ना स्थापित गर्न र भ्रष्टाचार अन्त्य गर्न उनीसहितको समूहले दुईओटा मुद्दा हालेका थिए। २ वर्ष मुद्दा लडेर एकपटक मेरिट भर्ना स्थापित गराउन सफल भएकी थिइन् उनी। अर्कोपटक भने निर्धारित भर्ना शुल्क स्थापित गराउन पनि उनी सफल भइन्।
इन्टर्न गर्दा इन्टर्नहरूको हकहितका लागि आवाज उठाइन्। संघर्ष गरिरहिन्।
मेडिकल अफिसरको रुपमा मेडिकल क्षेत्रमा आफ्नो करिअर सुरु गर्दा डाक्टरमाथि हुने हातपात र अस्पताल तोडफोडजस्ता घटनाले तोसिमालाई पिरोलिरहन्थ्यो।
स्वास्थ्यकर्मी जस्तो संवेदनशील पेसाकर्मी नै सुरक्षित छैनन् भने आमजनताको स्थिति के होला प्रश्न उनको मनमा उब्जिरहन्थ्यो।
स्वास्थ्यकर्मीमाथि भइरहने हातपातका घटना रोक्ने अभियानमा अग्रपंक्तिमा उभिइरहन्थिन् उनी।
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसम्बन्धी सुरक्षा ऐनमा ‘जेल विद्आउट बेल’ को अवधारणा लिएर एउटा ऐन स्थापित गर्न उनले खेलेको भूमिका निकै महत्वपूर्ण छ।
२०७२ असोज ७ गते चरिकोटमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि यो अभियान सुरु भएको थियो। सात वर्षपछि केही महिना यो अघि ऐन बनेर आएको छ।
भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टरलाई असपतालकै एक कर्मचारीले कुटपिट गरेपछि यसलाई नजिरको रुपमा हेरिएको छ।
अहिले त्यसमा नेपाल मेडिकल एसोसिएसनदेखि लिएर अन्य संस्थाहरूको ठूलो सहयोग छ।
उनी नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्य पनि छिन्। केन्द्रीय सदस्य हुँदा उनले अत्यधिक मत ल्याएकी थिइन्।
तोसिमा चिकित्सकहरुका लागि नीति बनाउने काममा पनि संलग्न थिइन्।
जनसेवाको भावनाका साथ त्यसमा खडा उत्रिने प्रण लिएर राजनीतिमा होमिएकी तोसिमाको राजनीतिक परीक्षा भने अब सुरु भएको छ।