
जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आइतबार मटकोर विधि सम्पन्न भएको छ ।
जानकी मन्दिरबाट जानकीको प्रतिकात्मक स्वरुपसँगै गीतनाद, बाजागाजा र झाँकीसहित निस्केको डोला ऐतिहासिक गंगासागर पुगी माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो ।
वैदिक मन्त्र उचारण गरि विधिपुर्वक जानकी मन्दिर भित्रयाइएको माटोले रामजानकी विवाहका लागि विवाह वेदी तयार गर्ने चलन रहेको छ । रामजानकी विवाहको पूर्वसंध्यामा आयोजित मटकोर कार्यक्रममा साधुसन्त, तिर्थालु भक्तजन, बुद्धिजीबि, नागरिक समाज, सुरक्षाकर्मी र नगरवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सोमबार ऐतिहासिक रंगभूमि ब्राहबिघा मैदानमा भेला हुने डोलालाई जानकी मन्दिर ल्याई राति वैवाहिक कार्यक्रम गरिनेछ ।
यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत शनिबार तिलकोत्सव विधि मनाइएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार जनकपुरधाम नगर दर्शन, बिहीबार फूलबारी लीला, शुक्रबार धनुष यज्ञ, शनिबार तिलकोत्सव र आइतबार मटकोर विधि सम्पन्न भएको हो । विवाहपञ्चमी महोत्सवको मुख्यदिन सोमबार स्वयंवर तथा विवाह र मंगलबार रामकलेवाको आयोजना गरिनेछ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।
विवाहपञ्चमी मेला भर्न नेपाल र भारतका विभिन्न स्थानका हजारौँ तिर्थालुहरु जनकपुरधाम आइपुगेका छन् ।
साभार: टुडेअवाज