
जनकपुरधाम : ‘
राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’
‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना…’
बेहुला र जन्तीसँग हाँसोठट्ठाको माध्यम लोक गीत हुन्। सप्ताहव्यापी राम–जानकी विवाह पञ्चमी महोत्सवको सातौं दिन राम कलेवाअन्तर्गत भगवान् रामलाई ५६ भोग (परिकार) अर्पण गरिएको छ। राम जानकीको विवाह भएको स्थलमा रामका तीन भाइसहित जन्तीमा सहभागीलाई भोजन गराउने कार्यक्रमलाई ‘राम कलेवा’ भनिन्छ।
यही अवसरमा मनोरञ्जन, भजन किर्तनलगायत कार्यक्रम गरिन्छ। राम कलेवा रामजानकी विवाह पञ्चमीको अन्तिम एवं सम्पन्न विधि हो। राम, लक्ष्मण, भरत, शत्रुधनलाई ५६ भोग अर्पण भइरहँदा जनकपुरधामका महिला श्रद्धालुले हर्ष बढाइँ गरे। मिथिलानी नारीले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्क्याएका थिए। मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खिर बेहुलाले सहजै नखाने परम्परा छ। रामले खीर खान नमानेपछि मिथिला नारीहरू गाउँछन्।
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग
राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोसेली दिएपछि खीर खान सुरु गरेपछि फेरि गीत गाउने महिलाहरूको टोलीले गाए।
खीर खाउ यौ दुलहा,
खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन
गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खिर खाउ यौ दुलहा
रघुवर चारै भाइका साथै अयोध्याबाट आएका साधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरूले मैथिली परम्पराअनुसार लोकगीत डहकन गाएर ‘गाली’ गरे।
रामायणकालीन परम्परालाई निरन्तरता दिँदै ‘रामकलेवामा’ मा सहभागीलाई जानकी मन्दिरबाट बिदाइ स्वरूप भोजनपश्चात् नगदसहित कम्मल, दोसल्ला, गम्छासहित बिदाइसमेत गरियो। हर्षित जनकपुरबासीले गाउँदै थिए।
‘आजु जनकपुर मंगल हे…
दुलाहा बनल श्रीराम हे…।’
साताव्यापी राम जानकी विवाह महोत्सवमार्फत मिथिलाको वैवाहिक विधि विधान उद्घाटित हुने जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन्। विवाहका क्रममा हुने नगरदर्शन, तिलक, मटकोर, जन्ती र मरजादको भोजको आयोजनाले धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरूप प्रदान गरेको छ।