
जनकपुरधाम : महोत्तरी क्षेत्र नं. १ का प्रत्यासी गिरिराजमणि पोखरेलले निर्वाचन पश्चात गाउँ-गाउँमा पुग्ने अभियानलाई तिव्रता दिएको छ । सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारद्वय गिरिराजमणि पोखरेल र पिताम्बर महतो जनताको घर-घरमा गएर मुस्कान सहित मतदातालाई धन्यवाद अभियानलाई तिव्रता दिएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नंं. १ मा पुगेका महतोले मतदातालाई धन्यवाद सहित जनअपेक्षा संकलन वडागत रुपमा सुरु गरिएको बताए । उनले भने, ‘जनता मतदातासंग कतिबेला भेटुम भएको छ, अधैर्य प्रतिक्षामा छु, म निर्वाचन क्षेत्रको हरेक वडा र गाउँ-गाउँमा जनताको जनअपेक्षा संकलन गरेर अघि बढ्छु ।’
‘अन्तर्मनै देखि धन्यवाद ! मतदाता र सबै सहृदयी मनहरुलाई । प्राविधिक रुपमा पराजित भए, तर तपाईले मनदेखी रोजेर मलाई मत दिनुभएको छ, म ती प्रत्येक मतको सम्मान गर्दछु । मैले हारे पनि तपाईको प्रत्येक मतलाई हार्न दिने छैन । यहि मेरो सङ्कल्प हो ।’ पूर्व मन्त्री पोखरेलले यस क्षेत्रको जनताको लागि थालनी गरेको कामको पूणर्ताका लागि जनप्रतिनिधि नरहेपनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले निर्वाचनमा विजय र पराजय प्राविधिक कुरा भएकोले जनतासंगको सामिप्यतासंग जोडिएर निरन्तर सहकार्यमा रहनेछु । उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि निरन्तर जनताको माझमा रहेर समस्या समाधान गर्ने कुरामा सधै प्रतिबद्ध रहनेछु ।’